close

अनलाइनमा नकाटेको १० लाख भारुको चिठ्ठापछि लाग्दा दीपक र दीपाश्री ‘ठगिए’पछि…

टेकपाना टेकपाना

माघ २२, २०८० १७:३५

अनलाइनमा नकाटेको १० लाख भारुको चिठ्ठापछि लाग्दा दीपक र दीपाश्री ‘ठगिए’पछि…

काठमाडौं । पछिल्लो समय अनलाइनमा चिठ्ठा परेको भन्दै ठगी हुने घटना बढेपछि नेपाल प्रहरीले भिडिओ सन्देश जारी गर्दै सचेत गराएको छ । आइतबार सामाजिक सञ्जालमार्फत उक्त भिडिओ राख्दै प्रहरीले त्यस्ता घटनाबाट जोगिन सर्वसाधारणलाई सचेत बनाएको हो । 

“तपाईंले चिठ्ठा काट्नु भएको नै छैन, तर तपाईंलाई चिठ्ठा पर्‍यो भन्ने वा तपाईंले ठूलो कम्पनीमा जागिर प्राप्त गर्नु भयो भन्ने वा कुनै अन्जान व्यक्तिबाट ठूलो रकम प्राप्त गर्नु भयो भन्ने जस्ता म्यासेजहरू आए भने याद गर्नुहोस्, तपाईं ठगीमा पर्नु हुँदैछ,” भिडिओको क्याप्सनमा लेखिएको छ, “यस्ता कुनै प्रकारका प्रलोभनमा नपरी नजिकैको प्रहरी कार्यालय वा १०० मा कल गर्नुहोस् । एक जिम्मेवार नागरिकका रूपमा प्रहरीलाई समयमै सूचना दिई आफू र समाजलाई ठगी हुनबाट बचाउनुहोस् ।”

भिडिओमा अभिनेता दीपकराज गिरी र अभिनेत्री दीपाश्री निरौलालाई पीडितका रूपमा देखाइएको छ । उनीहरूलाई १० लाख भारतीय रुपैयाँको चिठ्ठा परेको भन्दै एक व्यक्तिले हिन्दी भाषामा कुरा गरेको भिडिओमा प्रस्तुत गरिएको छ । 

त्यसपछि उक्त एजेन्टले नेपाली व्यक्तिलाई सम्पर्क गराउँछ । अनि उनीहरू नेपाली एजेन्टले भने जस्तै गरी मागेको रकम पठाइदिन्छन् । तर, अन्तिममा उनीहरूलाई अर्की पीडित युवतीले आफू ठगिएको र अब उजुरी दिन जान लागेको भन्ने जानकारी दिन्छिन् ।

उक्त घटना थाहा पाइसकेपछि दीपक र दीपाश्री आफू ठगिएको थाहा पाउँछन् र उजुरी दिन्छन् । तत्कालै उजुरी दिंदा प्रहरीलाई अनुसन्धान गर्न सहज भएको र पीडक पक्राउ परेको देखाइन्छ । 

प्रहरीले भिडिओ सन्देश मार्फत त्यसरी अनलाइन ठगीमा नपर्न सुझाव दिएको छ भने ठगिएको खण्डमा प्रमाणसहित तत्कालै उजुरी दिन अनुरोध गरेको छ । 

पछिल्लो अध्यावधिक: माघ २२, २०८० १७:३९