close

चार वर्षपछि आयोजना हुँदै रोबोट प्रतियोगिता ‘यन्त्र’, पुरस्कार राशी १० लाख रुपैयाँ

टेकपाना टेकपाना

माघ २२, २०८० १८:५२

बार्ड एआईद्वारा तयार पारिएको प्रतीकात्मक तस्वीर ! बार्ड एआईद्वारा तयार पारिएको प्रतीकात्मक तस्वीर !

काठमाडौं । रोबोटिक्स एसोसियसन अफ नेपाल (र्‍यान) ले नवौं संस्करणको ‘यन्त्र’ कार्यक्रम आयोजना गर्ने भएको छ । कोरोना महामारी यताका चार वर्षदेखि ठप्प भएको ‘यन्त्र’ यही २८ माघदेखि सुरु हुन लागेको हो । 

आयोजकका अनुसार यो कार्यक्रम २९ माघसम्म सञ्चालन हुनेछ । र्‍यान अध्यक्ष विकाश गुरुङले ‘यन्त्र’का अधिकांश प्रतियोगिता रोबोटसँग सम्बन्धित हुने बताए । 

“यसको मुख्य आकर्षण अन्तर्राष्ट्रिय रोबोटिक्स प्रतियोगिता हो,” टेकपानासँग कुरा गर्दै गुरुङले भने, “त्यसमा पनि रोबोट फुटबल, रोबोट ब्याटल, एआईमा आधारित काम पूरा गर्ने प्रतियोगिता, यन्त्र टिन्स लगायतका प्रतियोगिता हुनेछन् ।”

यसअन्तर्गत ‘प्रेसिडेन्ट कप यन्त्र टिन्स’, यन्त्र किड्स, यन्त्र स्वरम्यानोइड, यन्त्र इन्टरनेसनल लिग, यन्त्र अटोनोमस इन्डस्ट्रिज र यन्त्र बिजनेस कप सफ्टबट्स प्रतियोगिता समेत रहेका छन् । त्यस्तै कार्यक्रममा यन्त्र बिजनेस कप एक्स्पो र यन्त्र वार्ज नामको प्रतिस्पर्धा पनि हुनेछ । 

र्‍यानका अनुसार यी कार्यक्रममा सामान्यतः रोबोट जुधाई, रोबोटको सहयोगमा गरिएका व्यवसाय, रोबोटिक्स क्षेत्रमा ल्याइएका स्वचालित प्रविधि लगायतको सहभागिता रहनेछ । 

त्यसैगरी फोहोर व्यवस्थापनका लागि रोबोटले कसरी काम गर्न सक्छ, बालबालिका र किशोरकिशोरीले रोबोटलाई कसरी प्रयोग गरिरहेका छन्, त्यसका आधारमा प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । यी सबै प्रतियोगिताको कूल पुरस्कार राशी १० लाख रुपैयाँ रहेको छ । 

प्रतियोगितामा सहभागी हुने विद्यार्थी, सरोकारवाला र सर्वसाधारणका लागि पनि विभिन्न अफर पनि ल्याइएका छन् । “सहभागी हुनका लागि प्रतिव्यक्ति सय रुपैयाँ टिकेट शुल्क लाग्नेछ,” गुरुङले भने, “तर, हामी विद्यार्थीलाई उक्त रकम क्याश ब्याकका रूपमा उपलब्ध गराउँछौं भने अन्य व्यक्तिहरूलाई विभिन्न एक्सेसरिज उपलब्ध गराउँछौं । अहिले हामी विभिन्न ब्रान्डसँग यस विषयमा कुरा गरिरहेका छौं ।” 

 

 

पछिल्लो अध्यावधिक: माघ २९, २०८० १२:३०