close

सामसङ प्रमुख अब फेरि जेल जानु नपर्ने, ९ वर्षपछि अदालतले दियो सफाइ

टेकपाना टेकपाना

माघ २३, २०८० १८:२७

सामसङ प्रमुख अब फेरि जेल जानु नपर्ने, ९ वर्षपछि अदालतले दियो सफाइ

काठमाडौं । दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसङका प्रमुख ली-जे-योङ पुनः जेल जानबाट जोगिएका छन् । सामसङ अन्तर्गतका दुई कम्पनीबीचको मर्जर सम्झौताको क्रममा आर्थिक अपराध गरेको भन्दै परेको मुद्दामा अदालतले नौ वर्षपछि​ लीलाई सफाइ दिएपछि उनी फेरि जेल जानु नपरेको हो ।

सियोल सेन्ट्रल डिस्ट्रिक्ट कोर्टले सोमवार सुनाएको फैसलामा लीले उक्त व्यापारिक सम्झौतामा कुनै गैरकानूनी काम नगरेको ठहर गरेको छ । सामसङ सी एन्ड टी (Samsung C&T) र चेयल इन्डस्ट्रिज (Cheil Industries)बीच सन् २०१५ मा भएको मर्जर सम्झौतामा लीले अनियमितता गरेको भन्दै अदालतमा मुद्दा दायर भएको थियो ।

यसअन्तर्गत उनीमाथि सामसङ इलेक्ट्रोनिक्समा आफ्नो एकाधिकार राख्न स्वार्थप्रेरित निर्णय गरेको, सामसङ सी एन्ड टीको शेयर मूल्यको कम मूल्याकंन गरी शेयरधनीलाई विश्वासघात गरेको तथा रकम हिनामिना गरेको आरोप लागेको थियो । अदालतले भने खराब नियतले लीले उक्त मर्जर सम्झौता नगराएको ठहर गरेको छ ।

अदालतबाट सफाइ पाएसँगै ली पुनः जेलबाट जोगिएका छन् ।

यसअघि २०१७ मा उक्त मर्जरका लागि सरकारी समर्थन जुटाउन तत्कालीन राष्ट्रपति पार्क गेउन हेलाई ६.४ मिलियन डलर घुस दिएको अभियोगमा दोषी ठहर भएपछि उनलाई पाँच वर्षको जेल सजाय सुनाइएको थियो । तर पुनरावेदन अदालतको निलम्बनका कारण ११ महिनापछि उनी रिहा भए ।

सन् २०२१ मा उही मर्जरसँग सम्बन्धित घोटालामा दोषी पाइएपछि उनलाई साढे दुई वर्षको जेल सजाय सुनाइएको थियो । तर २०२२ मा राष्ट्रपति युन सुक येओलले उनलाई माफी दिएका कारण ​प्यारोलमा रिहा भएका थिए । जेलबाट छुटेको करिब एक वर्षपछि उनी सामसङ इलेक्ट्रोनिक्सको कार्यकारी अध्यक्षमा नियुक्त भएका थिए ।

दक्षिण कोरियाका दोस्रो धनाढ्य व्यक्तिसमेत रहेका ली कानूनी झमेलामा फस्दा सामसङको छवि धमिलिएको थियो ।

-एजेन्सीको सहयोगमा

पछिल्लो अध्यावधिक: माघ २३, २०८० २३:१५