close

आईटी पढ्न चाहने विद्यार्थीलाई २ करोड बराबरको छात्रवृत्ति दिँदै लर्ड बुद्ध एजुकेसन फाउन्डेसन

टेकपाना टेकपाना

माघ २५, २०८० १२:३८

आईटी पढ्न चाहने विद्यार्थीलाई २ करोड बराबरको छात्रवृत्ति दिँदै लर्ड बुद्ध एजुकेसन फाउन्डेसन

काठमाडौं । लर्ड बुद्ध एजुकेसन फाउडेसनले आईटी पढ्न चाहने विद्यार्थीलाई करिब दुई करोड रुपैयाँ बराबरको छात्रवृत्ति उपलब्ध गराउने भएको छ । बिहीवार क्यान इन्फोटेक २०२४ को उद्घाटन अवसरमा उक्त कलेज र क्यान महासंघबीच छात्रवृत्ति उपलब्ध गराउनेबारे साझेदारी घोषणा भएको हो ।

कलेजले क्यानसँगको सहकार्यमा विगत ६ वर्षदेखि छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसअन्तर्गत नेपालभरका ४९ जना जेहेन्दार तथा विपन्न विद्यार्थीहरूलाई बीएससी आईटी डिग्रीका लागि प्रत्येक वर्ष रु. २ करोडको छात्रवृत्ति प्रदान हुँदै आएको छ ।

अब चाँडै नै छात्रवृत्तिका लागि आवेदन माग गरिने जानकारी दिइयो । ‘नेसनल आईसीटी स्कलरसिप– २०८१’ मा देशका सातै प्रदेशका विद्यार्थीहरूले समान अवसर पाउने गरी सात प्रदेशबाट एकएक जना छात्रा लाई पूर्ण छात्रवृत्ति प्रदान गरिनेछ । त्यस्तै सम्पूर्ण प्रदेशबाट ४२ जनालाई आंशिक छात्रवृत्ति दिइने उल्लेख छ ।

ग्रामीण क्षेत्रमा समेत सूचना प्रविधिको विकासका लागि यसले टेवा पुर्‍याउने क्यानको विश्वास छ । सम्झौताअनुसार ४९ जना विद्यार्थीले छात्रवृत्ति पाउनेछन् ।

छात्रवृत्ति प्राप्त विद्यार्थीहरूले मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड इनोभेसनको सम्बन्धनमा सञ्चालित लर्ड बुद्ध एजुकेशन फाउण्डेसनमा स्नातक तह अन्तर्गत बीएससी आईटी अध्ययन गर्न पाउनेछन् ।

पछिल्लो अध्यावधिक: माघ २५, २०८० १२:४४