close

सुरु भयो ‘कता हो’ डिजिटल ठेगाना प्रणाली

टेकपाना टेकपाना

माघ २५, २०८० १३:६

सुरु भयो ‘कता हो’ डिजिटल ठेगाना प्रणाली

काठमाडौं । नेपालको ठेगाना प्रणालीलाई व्यवस्थित गर्ने उद्धेश्यसहित 'कता हो' नामक डिजिटल ठेगाना प्लेट प्रणाली सञ्चालनमा आएको छ । नवप्रवर्तनको क्षेत्रमा काम गर्दै आएको रामलक्ष्मण ग्रुप अन्तर्गत रहेको एड्रेसग्राफ नेपाल प्रालिले बुधवार क्यान इन्फोटेक २०२४ को यस प्लेटफर्म अवसरमा यो प्लेटफर्म सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार यस प्लेटफर्मबाट केही समयभित्रै नेपालका हरेक घरले घर ठेगाना प्लेट तयार गर्न सक्नेछन् । यसका लागि देशको सम्पूर्ण भूभागलाई करिब १५ अर्ब दुई करोड प्लट (टुक्रा)मा विभाजन गरी हरेक टुक्राका लागि नेपाली शब्द र अङ्क मिलाएर एउटा भिन्न नाम दिइएको छ । त्यसरी तयार हुने नामहरू नदोहोरिने, बरु सम्झिन र अरुलाई भन्न सजिलो हुने कम्पनीले जनाएको छ ।

‘कता हो’बाट तयार हुने ठेगाना प्लेटको नमूना

यस प्रणालीको सहायताले जुनसुकै ठाउँ पत्ता लगाएर त्यहाँसम्म पुग्न सकिने कम्पनीको भनाइ छ । कम्पनीले यस प्रणालीलाई नक्शा नभएर जुनसुकै नक्शामा प्रयोग हुने अपरिहार्य पूर्वाधार भएको बताएको छ ।

“देशको जुनसुकै ठाउँको पनि डिजिटल ठेगाना तयार गर्न सकिने ‘कता हो’ ग्रिडमा आधारित ठेगाना प्रणाली हो,” कम्पनीले भनेको छ, “यो प्रणाली पाँच मिनेटमै आफ्नो घरको ठेगाना प्लेट तयार गर्न सकिने अत्याधुनिक डिजिटल ठेगाना प्रणालीको सफ्टवेयर तथा एप्लिकेसन हो ।”

केके छन् विशेषता ?

आफ्नो ठेगाना बनाउन र पत्ता लगाउन यो प्रणालीले अफलाइनमा समेत काम गर्न सक्नेछ । प्लेटफर्मबाट जोसुकैले आफ्नो घरको ठेगाना प्लेट बनाउन तथा बनाएर आफैं टाँस्न पनि सक्नेछन् ।

यस प्रणालीमा ‘कता हो’ कोड, गुगलको प्लस कोड, डोर बेल बजाउने क्यूआर, आफ्नो निवासको नाम आफैं राख्न सकिने जस्ता विशेषता भएको कम्पनीले जनाएको छ ।  

यसबाट घर नम्बर प्लेटमा एकरुपता दिन सकिने साथै प्लेटको स्वामित्व प्रयोगकर्तालाई नै दिइने भएकाले जहिल्यै पनि आफ्नो प्लेट अध्यावधिक राख्न सकिने कम्पनीको भनाइ छ । 

त्यस्तै नेपाल सरकार, सहरी विकास मन्त्रालय तथा टोल विकास समितिबाट राखिएका घरका नम्बर समेत यो डिजिटल ठेगाना प्रणालीमा राख्न सकिने कम्पनीले जनाएको छ । चार वर्षको अनुसन्धानपछि विकास भएको ‘कता हो’ मोबाइल एप तथा वेबबाट चलाउन सकिने छ ।

कम्पनीले ‘कता हो’ को एन्ड्रोइड तथा आईओएस एप सार्वजनिक गरिसकेको छ । एपबाहेक तपाईंले वेबमा समेत याे प्लेटफर्म चलाउन सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: माघ २५, २०८० १३:६