close

ह्वाट्सएपमा अब फोन नम्बरको सट्टा युजरनेमबाटै सम्पर्क गर्न सकिने !

टेकपाना टेकपाना

माघ २८, २०८० ११:४३

ह्वाट्सएपमा अब फोन नम्बरको सट्टा युजरनेमबाटै सम्पर्क गर्न सकिने !

काठमाडौं । लामो समयदेखि चर्चामा रहेको ह्वाट्सएपको युजरनेम फिचरको बेटा भर्सनको विवरण बाहिरिएको छ । गत मे महिनामा कम्पनीले घोषणा गरेको उक्त फिचरबारे लामो समयसम्म कुनै जानकारी बाहिर आएको थिएन । अहिले भने ह्वाट्सएपका डेभलपरले उक्त फिचरले कसरी काम गर्छ, कस्तो देखिन्छ भन्ने विवरणहरू खुलाएका छन् ।

ह्वाट्सएपको नयाँ फिचरबारे जानकारी दिने प्लेटफर्म वाबेटा इन्फोका अनुसार ह्वाट्सएपको आईओएस २४.३.१०.७२ मा युजरनेम फिचर उपलब्ध हुन लागेको छ । फोन नम्बरबिना प्रयोगकर्तालाई सुरक्षित र गोप्य रूपमा अन्य प्रयोगकर्तासँग जोडिन सघाउनका लागि ह्वाट्सएपले यस्तो फिचर ल्याउन लागेको हो । 

अहिले पनि यो फिचर परीक्षणकै क्रममा छ । वाबेटा इन्फोले टेस्टफ्लाइट एपमार्फत आईओएसका लागि ह्वाट्सएपको बिजनेस एपको भर्सन २४.३.१०.७२ अपडेट परीक्षण गर्दा यो फिचर उपलब्ध हुन लागेको सङ्केत पाएको हो । 

सार्वजनिक भएको स्क्रिनशटमा ह्वाट्सएपले युजरमनेमका लागि छुट्टै सेक्सन बनाउन लागेको देखिन्छ । त्यही सेक्सनमा गएर प्रयोगकर्ताले आफूलाई उपयुक्त लाग्ने युजरनेम छान्न सक्नेछन् ।

प्रयोगकर्ताले युजरनेम राखिसकेपछि कम्पनीले सो युजरनेम युनिक छ/छैन, वा आफ्नो मापदण्ड पूरा गरेको छ वा छैन भन्ने विश्लेषण गर्छ । यी सबै कुरा मिलिसकेपछि कम्पनीले प्रयोगकर्तालाई सो युजरनेम उपलब्ध गराउँछ ।

फोन नम्बरको सट्टा युजरनेमबाटै ह्वाट्सएपमा जोडिन सकिने फिचर उपलब्ध भएपछि त्यसले प्रयोगकर्तालाई सम्पर्क गर्न सहज बनाउने अपेक्षा गरिएको छ । विशेषगरी सोझै नम्बर माग्नुभन्दा युजरनेम माग्न सहज हुने भएकाले प्रयोगकर्तालाई एक आपसमा जोडिन सहज हुने वाबेटाइन्फोले उल्लेख गरेको छ । 

यो फिचर कहिले सार्वजनिक हुन्छ भन्नेबारे कुनै जानकारी बाहिर आएको छैन । 

पछिल्लो अध्यावधिक: माघ २८, २०८० ११:५८