close

१८-१९ फागुनमा डिजिटल कर्णाली कन्क्लेभ आयोजना हुने

टेकपाना टेकपाना

माघ २९, २०८० १२:३८

१८-१९ फागुनमा डिजिटल कर्णाली कन्क्लेभ आयोजना हुने

काठमाडौं । आउदो १८-१९ फागुनमा डिजिटल कर्णाली कन्क्लेभ २०२४ आयोजना हुने भएको छ । कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालय र आईसीटी फाउण्डेसन नेपालको संयुक्त आयोजनामा दुई दिने कन्क्लेभ आयोजना हुने भएको हो ।

उक्त कार्यक्रममा ४० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागिता रहने बताइएको छ ।कर्णाली प्रदेशको डिजिटलाइजेसन र डेभलपमेन्टको थिममा केन्द्रित रहने कार्यक्रममा ५० बढी विज्ञ र सरोकारवालाहरू वक्ताको रूपमा रहनेछन् । सुर्खेतको विरेन्द्रनगर स्थित सिद्धार्थ रिसोर्टमा आयोजना हुने कार्यक्रममा सङ्घीय सरकार, प्रदेश र स्थानीय तहका प्रतिनिधिहरूको उपस्थिति रहने आयोजकले जनाएको छ ।

कन्क्लेभमा चार ओटा महत्त्वपूर्ण किनोट प्रस्तुति र छ ओटा प्यानल छलफलहरू रहने छन् । यसैगरी नेतृत्वमा रहेका विशिष्ट व्यक्तिहरूको पावर संवाद सेसन पनि त्यसमा समावेश रहेको छ । कन्क्लेभमा कर्णाली प्रदेशको डिजिटल अवस्था, प्रयास र क्षमता र डिजिटल रूपान्तरणको प्रतिबद्धता जस्ता विषयहरूमा समेत चर्चा हुनेछ ।

कर्णाली प्रदेशलाई प्रविधिको माध्यमबाट विकाससँग जोड्ने र डिजिटल रूपान्तरणको बाटोमा डोर्‍याउन कन्क्लेभ फलदायी हुने आयोजकले जानकारी दिएका छन् । दुई दिने कन्क्लेभले प्रदेशको डिजिटल रोडम्याप बनाउन समेत सहयोग पुर्‍याउने कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जीसीले बताए ।

राष्ट्रिय तथा स्थानीय सरोकारवालासँग सहकार्य गर्दै स्थानीय उत्पादन, कृषि, शिक्षा र पर्यटनलाई प्रविधिमार्फत विस्तार र प्रवर्द्धन गर्ने कार्यमा कन्क्लेभले जोड दिनेछ ।

कर्णाली प्रदेशका डिजिटल सेवा, स्टार्टअप र नयाँ प्रयासमा काम गरिरहेका संस्थालाई पनि कन्क्लेभमा जोड्ने प्रयास गरिएको छ । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, ऊर्जा लगायतका क्षेत्रमा प्रविधिको प्रयोग प्रयोग मार्फत भइरहेका सकारात्मक प्रयासलाई कन्क्लेभमा स्टल र छोटो भिडियो प्रस्तुतिको अवसर प्रदान गरिने बताइएको छ । डिजिटल कर्णालीको लागि नयाँ आइडिया र भइरहेका प्रयासहरूको बारेमा www.digitalkarnali.org  मार्फत बुझाउन सकिनेछ ।

पछिल्लो अध्यावधिक: माघ २९, २०८० १२:३८