close

नेपालमा ६ महिने एआई फेलोशिप दिंदै अमेरिकी कम्पनी फ्युज मसिन, कसरी दिने आवेदन ?

टेकपाना टेकपाना

माघ २९, २०८० १९:३८

नेपालमा ६ महिने एआई फेलोशिप दिंदै अमेरिकी कम्पनी फ्युज मसिन, कसरी दिने आवेदन ?

 

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को क्षेत्रमा काम गर्दै आएको अमेरिकी कम्पनी फ्युज मसिनले माइक्रो डिग्रीको रूपमा चिनिने एआई फेलोशिप कार्यक्रम सञ्चालन गर्ने भएको छ । नेपालमा शाखा कार्यालय रहेको कम्पनीले आउँदो अप्रिल महिनाबाट सुरु हुने गरी छ महिने एआई फेलोशिप प्रदान गर्ने भएको हो ।

यो कोर्समा जेनेरेटिभ एआई, मसिन लर्निङ, कम्प्युटर भिजन, नेचुरल ल्याङ्ग्वेज प्रोसेसिङ, न्युरल नेटवर्क एन्ड डिप लर्निङ, एमएलओपीएसबारे पढाइ हुनेछ । फेलोशिप प्राप्त गर्नका लागि भने विद्यार्थीले अनलाइन परीक्षा र अन्तर्वार्ता उत्तीर्ण गर्नु पर्नेछ । 

कम्प्युटर विज्ञान तथा आईटी विषय अध्ययन गरेका व्यक्ति अथवा यी विषयको अन्तिम वर्षमा अध्ययनरत विद्यार्थीले आवेदन दिन पाउने छन् । तर उनीहरूमा प्रोग्रामिङ ल्याङ्ग्वेज पाइथनको सीप र अङ्ग्रेजी भाषाको ज्ञान भने हुनु पर्नेछ । 

प्रवेश परीक्षामा प्रोग्रामिङ (पाइथन), गणित (लिनियर अल्जेब्रा, क्याल्कुलस, प्रोब्याबिलिटी र स्टाटिस्टिक्स) र बौद्धिक क्षमता (आईक्यू) तथा समस्या समाधान (प्रोब्लम सल्भिङ) बारे प्रश्न सोधिने कम्पनीले जनाएको छ ।

कोर्स अध्ययनपछि योग्य विद्यार्थीलाई फ्युज मसिनमै रोजगारीको अवसर प्रदान गरिने उल्लेख छ । साँझको समयमा पढाइने भएकाले यो फेलोशिपका लागि रोजगारमा रहेका व्यक्तिहरूले समेत आवेदन दिन सक्नेछन् । इच्छुक विद्यार्थीले १० मार्च भित्र अनलाइन आवेदन दिइसक्नु पर्नेछ । 

त्यस्तै अनलाइन माध्यमबाट ११-१७ मार्चमा प्रवेश परीक्षा र २१-२७ मार्चसम्म अनलाइन अन्तर्वार्ता हुनेछ । छ महिने एआई फेलोशिप भने ८ अप्रिलबाट सुरु हुने छ । 

कार्यक्रमबारे थप जानकारी लिन यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: माघ २९, २०८० १९:३८