close

सार्वजनिक भयो २८,००० एमएएच ब्याट्री क्षमता भएको स्मार्टफोन इनर्जाइजर पी२८के

टेकपाना टेकपाना

फागुन १४, २०८० १३:७

सार्वजनिक भयो २८,००० एमएएच ब्याट्री क्षमता भएको स्मार्टफोन इनर्जाइजर पी२८के

काठमाडौं । २८ हजार एमएएच क्षमताको ब्याट्री भएको एन्ड्रोइड फोन सार्वजनिक भएको छ । सोमबारदेखि स्पेनको बार्सिलोनामा सुरु भएको मोबाइल वर्ल्ड कांग्रेसमार्फत एभिनियर टेलिकमले इनर्जाइजर ब्रान्डमा यस्तो फोन ल्याएको हो ।

यो फोनको मुख्य फिचर नै २८ हजार एमएएच क्षमताको ब्याट्री हो । जसले मूलधारका पाँच हजार एमएएच क्षमताको सामसङ ग्यालेक्सी एस २४ अल्ट्रा र ५,४०० एमएएच क्षमताको वनप्लस १२ लाई निकै पछाडि छोडेको छ ।

नियमित जसो विद्युत् आपूर्तिको समस्या आइरहने देशहरूलाई लक्षित गर्दै यो फोन ल्याइएको एभिनियरले जनाएको छ । त्यस बाहेक क्याम्पर, कयौं दिनसम्मको जङ्गल जानेहरूका लागि समेत यो फोन उपयोगी हुन सक्छ ।

यसबाट अर्को फोन चार्ज गर्दा समेत एक हप्तासम्म टिक्ने ब्याट्री बाँकी रहने बताइएको छ । इनर्जाइजर पी२८के नाम दिइएको यो फोनको तौल ५७० ग्राम रहेको छ ।

जुन ग्यालेक्सी जेड फोल्ड फाइभ (२५३ ग्राम) भन्दा पनि निकै गह्रौँ हो । यति मात्र होइन, यो फोन फोल्डेबल फोनभन्दा पनि मोटो छ । पानी तथा धुलो प्रतिरोधीको रूपमा आईपी६९ रेटिङ प्राप्त यो फोनमा रग्ड फोनले जस्तो एमआईएल-एसटीडी रेटिङ भने पाएको छैन ।

यस बाहेकको सन्दर्भमा भने यो अन्य सस्ता एन्ड्रोइड फोन सरह नै छ । हेलियो जी९९ फोरजी प्रोसेसर राखिएको यो फोनमा ६.७८ इन्चको फुल एचडी प्लस स्क्रिन र २५६ जीबी स्टोरेज रहेको छ ।

पछाडि भागमा ६४ एमपी र २० एमपी गरी दुई ओटा क्यामेरा रहेको यो फोनमा सेल्फी र भिडिओ कलका लागि अगाडि भागमा १६ एमपी क्यामेरा राखिएको छ । अक्टोबरदखि बिक्री हुने बताइएको यो फोनको मूल्य २७१ अमेरिकी डलर तोकिएको छ ।

जुन पावर बैंक जडान गरिएको फोनका लागि आकर्षक मूल्य हुने अपेक्षा गरिएको छ । यद्यपि यो फोन नेपालमा उपलब्ध हुने विषय भने अहिलेसम्म स्पष्ट छैन ।

त्यसो त एभिनियरको त्यति राम्रो ट्रयाक रेकर्ड भने छैन । किन भने यो कम्पनीले यस अघि नै सन् २०१९ मा १८ हजार एमएएच क्षमता भएको र २०१८ मा १६ हजार एमएएच क्षमता भएको फोन ल्याएको थियो ।

यसका साथै कम्पनीको टिजरमा उल्लेख भए अनुसार यो डिभाइसका लागि इनर्जाइजर अन्तिम स्वीकृतिको पर्खाइमा समेत रहेको छ ।

पछिल्लो अध्यावधिक: फागुन १४, २०८० १३:७