close

नाफामुखी बनेको भन्दै च्याटजीपीटीको निर्माता ओपन एआई बिरुद्ध एलन मस्कले हाले मुद्दा

टेकपाना टेकपाना

फागुन २०, २०८० ११:५४

नाफामुखी बनेको भन्दै च्याटजीपीटीको निर्माता ओपन एआई बिरुद्ध एलन मस्कले हाले मुद्दा

काठमाडौं । अर्बपति उद्यमी एलन मस्कले च्याटजीपीटी निर्माता कम्पनी ओपन एआई र त्यसका सीईओ साम अल्टम्यान विरुद्ध मुद्दा दायर गरेका छन् । गैरनाफामुखी तथा मानवीय हितका लागि काम गर्ने भनेर स्थापना गरेको स्टार्अप कम्पनी नाफामुखी बनेको भन्दै मस्कले बिहीबार सान फ्रान्सिस्को स्थित क्यालिफोर्निया सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन् । 

मस्क ओपन एआईका सह-सहसंस्थापक पनि हुन् । मस्कसहित ग्रेग ब्रोकम्यान, साम अल्टम्यान, पिटर थाइल, रेड होफम्यान जेसिका लिभिङस्टनले यो कम्पनी स्थापना गरेका थिए । पछि एलन मस्कसहित अन्य सह-संस्थापकहरू प्रत्यक्ष भूमिकाबाट बाहिरिएर आर्थिक रूपमा सहयोग गर्दै आएका थिए । तर, पछिल्लो समय ओपन एआई जेनेरेटिभ एआईमा केन्द्रित भएसँगै ठूलो लगानी आवश्यक परेको थियो ।

त्यस्तोमा माइक्रोसफ्टले ओपन एआईमा फन्डिङ गरेको थियो । सन् २०१५ ताका सुरुवाती चरणमा सह-संस्थापक ग्रेग ब्रोकम्यान र साम अल्टम्यानसँग ओपन एआई ओपन सोर्स र गैर नाफामुखी बनाउने सम्झौता भए पनि पछिल्लो समय ओपन एआई मानविय सेवामा कम र नाफामा बढी केन्द्रित भएको मस्कको आरोप छ ।

हुन त मस्क पनि पछिल्लो समय आफ्नै आर्टिफिसियल इन्टेलिजेन्स स्टार्टअप एक्सएआईमा केन्द्रित छन् । मस्कले उजुरीमा भनेका छन्, “तीन संस्थापकहरू मूल रूपमा आर्टिफिसियल जनरल इन्टेलिजेन्स (AGI) मा काम गर्न सहमत भएका थिए । यो यस्तो अवधारणा हो जहाँ मेसिनले मानिसले जस्तै काम गर्छ ।”

ओपन एआई गुगलको प्रतिद्वन्द्वीका रूपमा काम गर्न खोजिरहेको छ । त्यसैले नाफाका लागि ओपन एआई एजीआई विकासमा काम गरिरहेको र त्यसले भविष्यमा विभिन्न किसिमका जोखिम निम्त्याउने मस्कको भनाइ छ । 

मस्कले यस कम्पनीको रिसर्च र अन्य प्रविधि सार्वजनिक रूपमा उपलब्ध गराउनुपर्ने उनको माग छ । त्यस्तै कुनै व्यक्ति वा माइक्रोसफ्टले आर्थिक नाफा लिनबाट रोक्न कम्पनीलाई जीपीटी फोर र अन्य सम्पत्ति प्रयोग गर्नबाट रोक्नुपर्ने मस्कले माग राखेका छन् । 

रोयटर्सका अनुसार मस्कले कम्पनीप्रति लगाएका कैयौं आरोप ओपन एआईमा प्रमुख कार्यकारीहरूले अस्वीकार गर्दै आएका छन् ।

 

पछिल्लो अध्यावधिक: फागुन २०, २०८० ११:५४