close

विदेशमा नेपाल टेलिकमको सिम प्रयोग गर्ने प्रयोगकर्ताले अब सस्तो दरमा डेटा रोमिङ सेवा लिन पाउने

टेकपाना टेकपाना

फागुन २३, २०८० १३:३

विदेशमा नेपाल टेलिकमको सिम प्रयोग गर्ने प्रयोगकर्ताले अब सस्तो दरमा डेटा रोमिङ सेवा लिन पाउने

काठमाडौं । नेपाल टेलिकमले विदेशमा आफ्नो सिम प्रयोग गर्ने प्रयोगकर्ताका लागि पहिलेभन्दा सस्तो दरमा डेटा रोमिङ सेवा उपलब्ध गराएको छ । यसरी विदेशमा भएका नेपाल टेलिकमका प्रयोगकर्ता (आउटबाउन्ड रोमर)हरूले रोमिङ सेवा प्रयोग गर्दा सबैभन्दा बढी डेटा रोमिङ सेवा प्रयोग गर्ने गरेको र सेवा सञ्चालनमा रहेको मुलुकमा रहेका रोमिङ पार्टनरहरूसँग गरिएको सम्झौताअनुसार उक्त महसुल दरमा भारी कटौती भएको टेलिकमले जनाएको छ ।

यस अनुसार टेलिकमको पोस्टपेड तथा प्रिपेड सिम प्रयोगकर्ताले विश्वमा रहेका २८ देशका रोमिङ पार्टनरहरूको नेटवर्कमा आवद्ध भई डेटा रोमिङ सेवा प्रयोग गर्दा सस्तो मूल्यमा डेटा सेवा उपलब्ध हुनेछ ।

''अब नेपाल टेलिकमकै पोस्टपेड तथा प्रिपेड सिम प्रयोग गरी अस्ट्रिया, बहराइन, बंगलादेश, बेल्जियम, क्यानडा, चीन, ग्रीस, हंगेरी, आयरल्यान्ड, इजरायल, इटाली, जापान र कोरियामा सस्तो दरमा डेटा रोमिङ सेवा उपलब्ध हुनेछ,'' कम्पनीले आफ्नो विज्ञप्तिमा लेखेको छ, ''त्यसैगरी मलेसिया, म्यानमार, नेदरल्यान्ड, ओमान, पाकिस्तान, फिलिपिन्स, कतार, साउदी अरेयिबा, सिंगापुर, श्रीलंका, स्विजरल्यान्ड, यूएई, युके, यूएसए र भियतनाममा समेत सस्तो दरमा डेटा रोमिङ सेवा प्रयोग गर्न सकिने छ ।''

रोमिङ सेवा र यसको महसुल दर वारेमा विस्तृत विवरण यो लिंकमा हेर्न सकिन्छ । 

डेटा रोमिङ सुविधा प्रयोग गर्न ग्राहकले अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु गरेको हुनुपर्छ । पोस्टपेड तथा प्रिपेड ग्राहकले नेपालमै रहँदा आफ्नो मोबाइलबाट *1415*7#  डायल गरी वा प्रिपेड ग्राहकहरुले नेपाल टेलिकम एपमार्फत अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु गर्न सक्नेछन् ।

परिमार्जित दररेट सस्तो र सुलभ हुने भएकोले रोमिङ सेवा प्रयोगकर्ताका लागि डेटा रोमिङ सेवा उपयोगी हुने र  सेवा प्रयोग गर्ने परिपाटीमा वृद्धि हुने कम्पनीको अपेक्षा छ ।  

पछिल्लो अध्यावधिक: फागुन २७, २०८० १२:१३