close

आउँदो बिहीवार र शुक्रवार ‘प्रथम सहकारी डिजिटल कन्क्लेभ’ हुँदै

टेकपाना टेकपाना

फागुन २९, २०८० १९:४३

आउँदो बिहीवार र शुक्रवार ‘प्रथम सहकारी डिजिटल कन्क्लेभ’ हुँदै

काठमाडौं । राष्ट्रिय सहकारी महासंघको आयोजनामा आउँदो बिहीवार र शुक्रवार ‘प्रथम सहकारी डिजिटल कन्क्लेभ’ हुने भएको छ । याक एण्ड यति होटलमा हुने उक्त कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको महासंघले जनाएको छ ।

‘डिजिटाइजिङ कोअपरेटिभ्स, एटेन्डिङ भिजन २०३०’ भन्ने थिमका साथ नेपालको सहकारी अभियानको इतिहासमा नै पहिलो पटक डिजिटल कन्क्लेभ हुन लागेको हो ।

प्रविधिहरूको रणनीतिक अवलम्बनमार्फत परम्परागत सहकारी कार्यस्थल परिवर्तन गर्न र महत्त्वाकांक्षी सहकारी भिजन २०३० सँग डिजिटलाइजेसनको शक्ति प्रयोग गरी सहकारीको रुपान्तरण गर्न कार्यक्रम कोशेढुंगा सावित हुने महासंघकी महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले बताइन् । 

सहकारीमा डिजिटलाइजेसन प्रक्रियामा बाधा पुर्याउने नीतिगत खाडलहरू पहिचान गरी सम्बोधन गर्न, डिजिटल सहकार्यका लागि सरोकारवालाबीच सहमति निर्माण गर्नका लागि पनि कन्क्लेभले महत्त्वपूर्ण दिशानिर्देश गर्ने महासंघका नायब महाप्रबन्धक सुरेश थापाले बताए ।

कन्क्लेभमार्फत अग्रणी आईसीटी विशेषज्ञहरू, नीति निर्माताहरू र टेक्नोलोजी सेवा प्रदायकहरूसँग सहज अन्तक्रिर्या हुने भएकाले यसले नेपालको सहकारी अभियानलाई डिजिटल रुपान्तरणको यात्रामा पुलको काम गर्ने महाप्रबन्धक सुब्बाले बताइन् ।

कन्क्लेभको मुख्य वक्ताको रुपमा पूर्वअर्थमन्त्री डा युवराज खतिवडा रहेका छन् । खतिवडाले सन् २०३० मा सहकारीको पुन: परिकल्पना शीर्षकमा महत्त्वपूर्ण दिशानिर्देश गर्ने बताइएकाे छ । सम्मेलनमा पाँच विषयमा कार्यपत्र प्रस्तुत हुनेछ ।

नेपालमा सहकारीलाई डिजिटलाइज गर्ने विगतका अनुभव र भविष्यको रोडम्याप, सहकारी डिजिटाइजेसनको लागि डिजिटल समाधान, साइबर सुरक्षाको खतरा र न्यूनीकरणका रणनीति, डिजिटलाइजेसनका नीतिगत फ्रेमवर्क र सन् २०३० सम्म सहकारीलाई पूर्ण डिजिटलाइजेसन गर्ने एजेन्डाहरूका विषयमा प्रस्तुति हुने महासंघले जनाएको छ ।

त्यसैगरी अभियान, सरकार, प्रविधि सेवाप्रदायक र विज्ञबीच महत्त्वपूर्ण विषयहरूमा प्यानल छलफल गरेर निष्कर्ष निकालिने महासंघले जनाएको छ । यो कार्यक्रम सहकारीका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, व्यवस्थापकका लागि संस्थामा प्रविधि अवलम्बन गर्नका लागि निर्णय लिन सहज हुनेगरी तय गरिएको महाप्रबन्धक सुब्बाले बताइन् ।

‘‘डिजिटलाइजेसनको विषयमा मानसिकता परिवर्तन गर्न, सहकारी सेवाहरूलाई समर्थन गर्ने आईसीटी  नीतिहरू निर्माणका लागि नेपाल सरकार र सम्बन्धित सरोकारवालाहरूसँग छलफलको वातावरण सिर्जना गर्न र डिजिटल रूपान्तरण प्रक्रियाको वैचारिक जागरुकतालाई बढावा दिँदै शुसासनमैत्री सहकारी सफ्टवेयर र बलियो साइबर सुरक्षा प्रणालीको कार्यान्वयनको लागि आधार निर्माण गर्न यस सम्मेलनले महत्त्वपूर्ण योगदान गर्ने हामीले विश्वास लिएका छौं,’’ महाप्रबन्धक सुब्बाले भनिन् । 

पछिल्लो अध्यावधिक: फागुन २९, २०८० २१:४९