close

सोझा व्यक्तिहरूसँग नागरिकताको फोटोकपी मागी खल्ती र ईसेवा अकाउन्ट खोल्दै ठगी

टेकपाना टेकपाना

चैत १, २०८० १३:७

सोझा व्यक्तिहरूसँग नागरिकताको फोटोकपी मागी खल्ती र ईसेवा अकाउन्ट खोल्दै ठगी

काठमाडौं । विपन्न परिवारलाई आर्थिक प्रलोभनमा पारी उनीहरूको नागरिकता लिएर त्यसलाई दुरुपयोग गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले कागजात दुरुपयोगका साथै अनलाइन ठगी गरेको आरोपमा मङ्गलबार दुई बङ्गलादेशी नागरिक र एक नेपाली युवतीलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौं बस्ने २३ वर्षीया सुनिता खत्री, बंगलादेशी नागरिक ४९ वर्षीय महमद खालिद हुसेन र ३७ वर्षीय महमद तानबिर हुसेन रहेका छन् ।

प्रहरीका अनुसार आरोपित नेपाली महिला खत्री डब्लु बी.एस.सी कम्पनीबाट गरिब दु:खी असहायहरूलाई आर्थिक सहयोगको लागि आएको भन्दै मोरङको सुन्दरहरैंचा नगरपालिकामा गएकी थिइन् । आर्थिक रूपले विपन्न वर्गका मान्छेलाई लक्षित गर्दै उनीहरूलाई पाँच सय, एक हजार, १५ सयका दरले रकम वितरण गरिन् । 

अनि जसलाई उनले सहयोग गरें भनेकी थिइन्, उनीहरूको फोटो खिचिन् र नेपाली नागरिकताको फोटोकपी पनि लिइन् । यसरी सर्वसाधारणको संवेदनशील विवरणहरू लिइरहेको भन्ने सूचना पाएपछि इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले खत्रीलाई नियन्त्रणमा लिएको हो । 

प्रारम्भिक अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएकी खत्रीले गाउँमा खिचेका सर्वसाधारणको फोटो र नेपाली नागरिकताको फोटोहरू बंगलादेशी नागरिकलाई दिने गरेको खुल्यो । प्रहरीले खत्रीकै माध्यमबाट ती दुई बङ्गलादेशी नागरिकलाई पनि पक्राउ गर्‍यो । 

प्रहरीका अनुसार ती दुई नागरिकले उक्त नागरिकता र फोटो प्रयोग गरी गैरकानूनी रुपमा ईसेवा र खल्ती अकाउन्ट भेरिफाई गर्थे । र, उक्त अकाउन्टमा अनलाइन ठगी गरेको रकम जम्मा गर्थे । 

पक्राउ परेका व्यक्तिको साथबाट प्रयोग एनसेलका सिमकार्ड, पासपोर्ट, मोबाइल फोन, नगद, एटीएम कार्ड लगायत बरामद गरिएको छ । प्रहरीका अनुसार उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।

पछिल्लो अध्यावधिक: चैत १, २०८० १३:२६