close

च्याटजीपीटीमा आधारित रोबट सार्वजनिक, बोल्ने र काम गर्ने शैली मानिसको जस्तै

टेकपाना टेकपाना

चैत ३, २०८० १७:१२

च्याटजीपीटीमा आधारित रोबट सार्वजनिक, बोल्ने र काम गर्ने शैली मानिसको जस्तै

काठमाडौं । यदि तपाईं आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा रुचि राख्नुहुन्छ भने ओपनएआईको च्याटजीपीटी अवश्य प्रयोग गर्नुभएको छ । तर के तपाईंले कहिल्यै सोच्नुभएको छ, शक्तिशाली एआई च्याटबटको यदि भौतिक रूप भए कस्तो हुने थियो ? 

अमेरिकी स्टार्टअप ‘फिगर’ले ठ्याक्कै यही प्रश्नको जवाफ दिएकाे छ । यस कम्पनीले हालै ‘फिगर ०१’ नामक ह्युमनाइड रोबट सार्वजनिक गरेको छ । यो रोबट ओपनएआईबाट सञ्चालित छ । डेमो भिडिओमा रोबटले विभिन्न कार्यहरू मानिससँगको अन्तर्क्रियाका आधारमा गरेको देख्न सकिन्छ । 

भिडिओमा प्रश्नकर्ताले अगाडि के छ भनेर सोध्दा रोबटले वास्तविक जवाफ दिएको छ । अगाडिका विभिन्न वस्तुहरूको पहिचान गर्न ‘फिगर ०१’ मा क्यामेरा राखिएको छ । त्यसैको आधारमा रोबटले उत्तर दिने र काम गर्ने कम्पनीले जनाएको छ । जस्तो; भिडिओमा रोबटले आफूअघिका रातो स्याउ, भाडा सुकाउने र्‍याक लगायतका वस्तु सही तरिकाले पहिचान गरेको थियो ।

‘फिगर १.०’ले स्याउ दिँदै

रोचक कुरा के छ भने, यस रोबटले वरपर भएको वस्तुबारे वर्णन गर्ने मात्र नभइ तिनसँग अन्तर्क्रियासमेत गर्न सक्छ ।

डेमो भिडिओमा प्रश्नकर्ताले केही खानेकुरा छ भनेर प्रश्न गर्दा रोबटले नजिकै रहेको स्याउ समात्छ । र, प्रश्नकर्ताको हातमा थमाउँछ । यसका साथै स्याउ नै लिनुको कारण पनि बताउँछ । 

त्यस्तै डेमो भिडिओमा रोबटको मल्टिटास्किङ क्षमता पनि देखाइएको छ । जस्तै; भाडालाई र्‍याकमा राख्ने, सामान टिपेर टोकरीमा राख्ने आदि काम रोबटले सजिलै गरेको देख्न सकिन्छ ।

‘फिगर ०१’ ले यी सबै काम प्रश्नकर्तासँग कुराकानीका आधारमा गरेको छ, जुन दैनिक जीवनमा गरिने जस्तै छ ।

‘फिगर ०१’ ले क्यामेराबाट प्राप्त हुने भिजुअल डेटाका आधारमा काम गर्ने कम्पनीको भनाइ छ, चाहे त्यो अन्तर्क्रिया गर्न होस् या चालमा आउने काम गर्न । बोली र चाल दुवैमा मानिसजस्तै हुनु यसको आकर्षक विशेषता हो । त्यसकारण रोबटले काम र बोल्दै गर्दा कुनै अवरोध भएको देखिँदैन । यद्यपि रोबट निर्माता फिगरले यसको प्राविधिक विवरणबारे केही खुलाएको छैन । 

फिगरले गत वर्षमात्रै आफ्नो पहिलो ह्युमनाइड रोबट सार्वजनिक गरेको थियो । त्यस रोबटको उद्देश्य कारखानादेखि घरका काममा मानिसलाई सहयोग गर्नु थियो । ता कि दोहरिरहने कामबाट मानिसलाई मुक्ति मिलोस् । 

त्यस्तै ओपनएआईसँगको सहकार्यमा बनाएको ‘फिगर ०१’ भने कम्पनीले हालैमात्र सार्वजनिक गरेको हो । ह्युमनाइड रोबट तयार पर्न स्टार्टअपका रुपमा रहेको फिगरले अमेजन, माइक्रोसफ्ट र एनभिदियाजस्ता ठूला कम्पनीबाट हालसम्म ६७५ मिलियन डलर रकम सङ्कलन गरिसकेको छ । आउँदा दिनमा कम्पनीले कस्ता उत्पादन तयार पार्छ, त्यो भने हेर्न बाँकी नै छ ।

पछिल्लो अध्यावधिक: चैत ३, २०८० १७:१२