close

गुगलसँग आईफोनमा जेमिनाई एआई फिचर प्रयोग गर्ने अनुमति माग्दै एप्पल

टेकपाना टेकपाना

चैत ५, २०८० १८:११

गुगलसँग आईफोनमा जेमिनाई एआई फिचर प्रयोग गर्ने अनुमति माग्दै एप्पल

काठमाडौं । आईफोनमा जेमिनाई एआईको फिचर ल्याउन एप्पलले गुगलसँग सहकार्य गर्न खोजिरहेको खबर बाहिरिएको छ । आईफोनको आउँदो संस्करणमा एआई फिचर ल्याउने एप्पलले बताइरहँदा गुगलसँगको सहकार्यको खबर बाहिरिएको हो । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यम ब्लुमबर्गले एप्पल निकट स्रोतलाई उद्धृत गर्दै अबको आईओएस अपडेटमा एआई फिचर ल्याउन जेमिनाईको इजाजतपत्र खोजिरहेको उल्लेख गरेको छ । एआईको दौडको सन्दर्भमा तुलनात्मक रूपमा अन्य प्रतिस्पर्धीभन्दा एप्पल पछाडि रहेको छ । 

यसकारण पनि ओपनएआई, माइक्रोसफ्ट, एन्थ्रोपिक र गुगल जस्ता प्रतिस्पर्धीसँग एआईको दौडमा समान हैसियत बनाउन एप्पललाई दबाब छ । त्यसै सन्दर्भमा गत फेब्रुअरीमा एप्पलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टिम कुकले यस वर्षको अन्त्यसम्ममा आईफोनमा जेन-एआई फिचर ल्याउने घोषणा गरेका थिए ।

गत वर्षको एप्पलको कर्मचारीको तथ्याङ्क हेर्दा जेनेरेटिभ एआई सम्बन्धी विभिन्न उपकरणमा काम गरिरहेको बुझ्न सकिन्छ । हालै मात्र आईओएस १८ मा एआई फिचर ल्याउन एप्पलले क्यानेडियन स्टार्टअप डार्विन एआईलाई किनेको छ । यद्यपि, तेस्रो-पक्षसँग सहकार्य गर्नुको अर्थ एप्पलले आफ्नै एआई बनाउनमा प्रगति गर्न नसकेको रूपमा बुझ्न सकिन्छ ।

जे जसरी भएपनि एप्पलले आईओएस १८ मा केही एआई फिचर दिन सक्ने देखिन्छ । जुन अब हुने एप्पलको वर्ल्डवाइड डेभलपर कन्फ्रेस (डब्लूडब्लूडीसी) मा घोषणा गरिने अपेक्षा गरिएको छ ।

प्रविधि जगतका हस्ती यी कम्पनीको सहकार्य सजिलो भने नहुन सक्छ । हुन त यी कम्पनीबिच वर्षौंदेखि केही क्षेत्रमा सहकार्य भने हुँदै आएको छ । जसअन्तर्गत आफ्नो सर्च इन्जिनलाई आईफोन र अन्य डिभाइसमा डिफल्ट बनाउन गुगलले वर्षौंदेखि एप्पललाई वार्षिक अर्बौं डलर तिर्दै आएको छ । 

तर त्यो सहकार्यमाथि सरकारी निकायले प्रश्न उठाउँदै आएका छन् । सर्च इन्जिनको बजार सङ्कुचित पार्न एप्पल र गुगलले एउटै संस्थाको रूपमा काम गरेको सरकारको आरोप छ । त्यस्तै युरोपियन युनियनले समेत एप्पललाई सर्च इन्जिन डिफल्ट नबनाइ परिवर्तन गर्न सजिलो बनाउन बाध्य पारिरहेको छ । यसबाहेक जेमिनाईका आफ्नै समस्या रहेका छन् । 

त्यस्तै आईफोनमा जीपीटी मोडेलका फिचर राख्न एप्पलले ओपनएआईसँग पनि कुराकानी गरिरहेको ब्लुमबर्गको भनाई छ । यद्यपि आधिकारिक रूपमा यी कम्पनीले सहकार्यबारे केही बताएका भने छैनन् ।

 

पछिल्लो अध्यावधिक: चैत ५, २०८० १८:११