close

आईफोनमार्फत एकाधिकार कायम गरेको भन्दै एप्पल विरुद्ध अमेरिकी सरकारको मुद्दा

टेकपाना टेकपाना

चैत ९, २०८० १७:४२

आईफोनमार्फत एकाधिकार कायम गरेको भन्दै एप्पल विरुद्ध अमेरिकी सरकारको मुद्दा

काठमाडौं । स्मार्टफोन बजारमा एकाधिकार कायम गरेको आरोपमा आईफोन निर्माता कम्पनी एप्पल विरुद्ध मुद्दा परेको छ । अमेरिकी न्याय विभाग र १६ राज्यका महान्यायाधिवक्ताले बिहीवार एप्पल विरुद्ध मुद्दा दायर गरेका हुन् ।

आफूलाई सम्पन्न बनाउन प्रतिस्पर्धीहरूलाई दबाएको आरोप एप्पलमाथि लागेको छ । न्यु जर्सीको जिल्ला अदालतमा दायर गरिएको ८८ पृष्ठ लामो मुद्दामा एप्पलले आईफोनमा कडा नियन्त्रण कायम गरेर अन्य कम्पनीलाई आफूसँग प्रतिस्पर्धा गर्नसक्ने महत्त्वपूर्ण एप्लिकेसन र सेवाहरू तयार पार्न रोक लगाएको र त्यसबाट एन्टिट्रस्ट कानून उलङ्घन हुन पुगेको उल्लेख छ ।

परिणाम स्वरूप प्रतिस्पर्धी स्मार्टवाच, डिजिटल वालेट तथा क्रस प्लेटफर्म मेसेजिङ सेवामा सपोर्ट गर्ने जस्ता उपभोक्तालाई लाभ पुग्न सक्ने सुविधा तथा कार्यक्षमता प्रदान गर्ने एपमा प्रतिस्पर्धा कम गरिदिएको तर्क गरिएको छ ।

अमेरिकी महान्यायाधिवक्ता मेरिक गारल्यान्डले बिहीवार आयोजित पत्रकार सम्मेलनका क्रममा भने, "एप्पलले आफ्ना उत्पादन उत्कृष्ट बनाएर नभई अरूका उत्पादन खराब बनाएर आफ्नो एकाधिकार शक्तिलाई मजबुत बनाएको भन्ने हाम्रो आरोप हो ।"

उनले अगाडि भनेका छन् कि अमेरिकी स्मार्टफोन बजारमा एप्पलको बजार हिस्सा ६५ प्रतिशतभन्दा माथि रहेको छ, कम्पनीले यस्ता व्यवधान खडा गरेर आफूलाई शक्तिमा कायम राखिरहेको र त्यसले प्रयोगकर्ता र डेभलपर दुवैका लागि एप्पलको इकोसिस्टम बाहिर उद्यमशीलता गर्न निकै कठिन र महँगो बनाएको छ ।

तर एप्पलले भने सरकारी आरोप अस्वीकार गर्दै एक विज्ञप्तिमार्फत दायर मुद्दालाई लिएर भनेको छ, "त्यसले हाम्रो परिचय र अत्यधिक प्रतिस्पर्धी बजारमा एप्पलका उत्पादनलाई भिन्न राख्ने सिद्धान्तलाई नै खतरामा पारेको छ ।" कम्पनीले अगाडि थप्दै भनेको छ कि यदि मुद्दा सफल भएको खण्डमा त्यसले खतरनाक नजिर कायम गर्नेछ, जस मार्फत मानिसहरूको प्रविधि डिजाइन गर्ने क्षमतामाथि सरकारको हात बलियो पार्न सहयोग पुर्‍याउनेछ ।

कम्पनीले भनेको छ, ""यो मुद्दा तथ्य र कानूनको हिसाबले गलत छ भन्ने हाम्रो बुझाई छ र हामी यस विरुद्ध कडा रूपमा बचाउमा उत्रिनेछौं ।" अमेरिकी सरकारको यो मुद्दाले एप्पलको करिब तीन ट्रिलियन अमेरिकी डलरको साम्राज्यको केन्द्रमाथि नै हमला गरेको छ ।

जुन उसको आईफोनको उल्लेखनीय सफलतामा बनेको हो । १७ वर्ष अघि यसलाई सुरु गरेपश्चात् एप स्टोर जस्ता सेवाहरूलाई सशक्त बनाएर आईफोनलाई उद्योगकै पावर हाउसको रूपमा अगाडि बढाउन सफल भएको छ । जुन आफैंमा उबर, एयरबीएनबी र स्पोटीफाई जस्ता मल्टी बिलियन डलर कम्पनीका लागि समेत जीवन रेखा बनेको छ ।

आलोचकहरूको भनाईमा आईफोनको मुख्य कार्य क्षमता वरिपरि रहेर बनेका एप्पलका आफ्ना उत्पादन र सेवाहरूसँग प्रतिस्पर्धीका उत्पादन प्रतिस्पर्धा गर्नै नसक्ने अवस्थामा पुर्‍याएको मूल्यमा एप्पलले सफलता हात पारेको हो । मुद्दामा त्यस्ता निर्णयहरूलाई नयाँ आकार दिने क्षमता रहेको छ, जो प्रविधि कम्पनीहरू आफूले निर्माण गरेका उपकरणका लागि द्वितीय अनुभव बनाउँदाको समयमा लिने गर्दछन् ।

न्याय विभागले यस्ता थुप्रै उदाहरण समेत दिएको छ, जहाँ यस्तो भइरहेको उसको बुझाइ छ । त्यसमा भिडिओ गेम स्ट्रिमिङ, क्रस-प्लेटफर्म मेसेजिङ, स्मार्टवाच, वेब ब्राउजर र विज्ञापन सामेल छन् ।

पछिल्लो अध्यावधिक: चैत ९, २०८० १७:४३