close

नेपालमै पहिलोपटक यसरी हुँदैछ हाइड्रोजन उत्पादनको तयारी (भिडिओ सहित)

टेकपाना टेकपाना

चैत १७, २०८० १३:२४

नेपालमै पहिलोपटक यसरी हुँदैछ हाइड्रोजन उत्पादनको तयारी (भिडिओ सहित)

काठमाडौं । नेपालमै पहिलोपटक हाइड्रोजन उत्पादनको तयारी गरिएको छ । ग्रिन हाइड्रोजनमा अध्ययन-अनुसन्धान गरिरहेको काठमाडौं विश्वविद्यालयले हाइड्रोजन उत्पादनको काम अन्तिम चरणमा पुगेको जानकारी दिएको हो । 

विश्वविद्यालय अन्तर्गतको नेपाल हाइड्रोजन इनिसियटिभ्सका परियोजना प्रमुख तथा एसोसियट प्राध्यापक डा. विराजसिंह थापाका अनुसार हाइड्रोजन रिफिलिङ स्टेसनका केही मसिनको मात्र परीक्षण बाँकी रहेको छ । यदि सबै परीक्षण सम्पन्न भए शनिवार (आज) साँझ कारमा हाइड्रोजन फिल गर्ने र भोलिबाट स्टेसनको पूर्ण रूपमा सुरूवात हुनेछ । 

विश्वविद्यालयले यसअघि नै दक्षिण कोरियाबाट हुन्डाईको नेक्सो फ्युल सेल हाइड्रोजन कार भित्र्याइसकेको छ । करिब ८० लाख रुपैयाँ मूल्य पर्ने उक्त कारको पावर १६१ हर्स पावर अर्थात् १२० किलोवाट क्षमताको रहेको छ । जसले ६५० किमिसम्म रेञ्ज दिने बताइएको छ । 

सोही कारका लागि आवश्यक पर्ने हाइड्रोजन तयार पार्न विश्वविद्यालयले गत मंसिरबाटै रिफिल स्टेसनको निर्माण सुरु गरेको थियो । विश्वविद्यालयले यसका लागि आवश्यक पर्ने सामग्रीहरू तीन महिनाको समय लगाएर दक्षिण कोरियाबाट भित्र्याएको थियो ।

अब सो स्टेसनबाट यहाँकै विद्युत र पानी प्रयोग गरेर हाइड्रोजन उत्पादन हुने भएको हो । यसका लागि कोरिया र जर्मनीबाट आएका प्राविधिक टोलीसँग विश्वविद्यालयले परीक्षणको काम गरिरहेको छ । यदि यो स्टेसन सफल भए हाइड्रोजनमा नेपालले नयाँ उचाइ लिने विश्वास गरिएको छ ।

भिडिओ स्रोतः विराजसिंह थापा

यी पनि पढ्नुहोस्

हाइड्रोजन कार चलाउन नेपालकै पानी र बिजुलीबाट इन्धन तयार पारिँदै

नेपाल आयो पहिलो हाइड्रोजन कार, तर सडकमा गुडाउन नम्बर प्लेट पाउने कानून छैन

पछिल्लो अध्यावधिक: चैत १७, २०८० १८:४०