close

ओपनएआईले ल्यायो मानव आवाज नक्कल गर्न सक्ने एआई टुल

टेकपाना टेकपाना

चैत १७, २०८० १४:१५

ओपनएआईले ल्यायो मानव आवाज नक्कल गर्न सक्ने एआई टुल

काठमाडौं । ओपनएआईले मानव आवाजलाई जस्ताको जस्तै नक्कल गर्न सक्ने नयाँ टुल सार्वजनिक गरेको छ । एक ब्लग पोस्ट लेख्दै भोइस क्लोनका लागि ओपनएआईले 'भोइस इन्जिन' नामक टुल सार्वजनिक गरेको हो । 

अहिले निजी रूपमा साना व्यवसायीहरूको केही समूहसँग ओपनएआईले यस टुलको परीक्षण गरिरहेको छ । केही नमूनाकै आधारमा वास्तविक व्यक्तिको आवाज नक्कल गर्न सक्ने भएकाले नैतिक प्रश्न उठ्ने भएकाले कम्पनीले यसो गरेको अनुमान गरिएको छ । तर यस टुल ओपनएआईले पहिल्यै बनाएको ‘टेक्स्ट टु स्पिच सिस्टम’को विस्तार मात्र हो । 

ओपनएआईकै ब्लग पोस्टमा राखिएका केही नमूना हेर्दा यस टुलले करिब जस्ताको जस्तै आवाज नक्कल गर्न सकेको सुन्न सकिन्छ । क्लोन गरिएको आवाज विभिन्न विषयमा बोलेको तथा विभिन्न भाषामा समेत उही आवाज प्रयोग भएको सुन्न सकिन्छ । 

अहिले उपलब्ध गराइएको उक्त नमूना अडिओहरूमा १५ सेकेन्डको वास्तविक आवाजका आधारमा टुलले उही समय बराबरको उस्तै लाग्ने आवाज सिर्जना गरेको सुन्न सकिन्छ । 

अहिले डीप फेक प्रविधिको प्रयोग गरेर विभिन्न राजनीतिज्ञ, सेलिब्रेटी र पत्रकारहरूको छवि बिगार्ने काम पनि भइरहेको छ । त्यसो हुँदा भोइस इन्जिन जस्तो शक्तिशाली टुलको दुरुपयोग नहोला भन्न सकिन्छ । गलत जानकारी फैलाउन यस प्रकारको टुल प्रयोग गर्ने सम्भावना पनि उत्तिकै रहेको छ । 

यो कुरा कम्पनीले मनन गरेको र त्यस्ता सम्भावित दुरुपयोग रोक्न वाटरमार्किङको प्रणालीमा काम गरिरहेको पनि ओपनएआईले जनाएको छ । यसले नैतिक समस्या समाधान गर्ने कम्पनीले विश्वास लिएको छ । 

यद्यपि यस प्रकारका टुल धेरैका लागि उपयोगी हुन सक्ने पाटो पनि रहेको छ । अहिले स्ट्रमिङ प्लेटफर्म स्पोटिफाईले अडिओलाई विभिन्न भाषामा सुन्न सक्ने बनाउन यस प्रकारका टुलको प्रयोग गरिसकेको छ । तर ओपनएआईले यस टुललाई सार्वजनिक प्रयोगका लागि उपलब्ध गराउनेबारे अहिलेसम्म नसोचेको प्रतिक्रिया दिएको छ ।

कम्पनीले यसअघि पनि प्रम्प्टकै आधारमा एक मिनेटसम्मको वास्तविक लाग्ने भिडिओ बनाउने टुल सोरा सार्वजनिक गरेको थियो । उक्त टुल पनि हालसम्म सार्वनजिक रुपमा उपलब्ध उपलब्ध गराइएको छैन ।

पछिल्लो अध्यावधिक: चैत १७, २०८० १४:१७