close

सुनिल र विकल पौडेललाई थप २१ दिन हिरासतमा राख्न अदालतको अनुमति

टेकपाना टेकपाना

चैत १८, २०८० १५:४८

सुनिल र विकल पौडेललाई थप २१ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेललाई थप २१ दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ ।

सेक्युरिटी प्रिन्टिङ र पेमेन्ट गेट वे प्रकरणका अभियुक्त यी दुईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी सम्पत्तिआर्जन गरेको आरोपमा माघ १० मा पक्राउ गरेको थियो ।

अनुसन्धान नसकिँदा अख्तियारले योसँगै पाँच पटकसम्म अदालतबाट म्याद थपको अनुमति लिएको छ । म्याद थपका लागि आइतवार विशेष अदालतमा पेश भएकोमा थप २१ दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिइएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले टेकपानालाई बताए ।

उनीहरूमाथि विशेष अदालतमा भ्रष्टाचारको मुद्दा पनि चलिरहेको छ । आवश्यक पूर्वाधार नै तयार नगरी नेसनल पेमेन्ट गेटवे खरिद गरेको भन्दै अख्तियारले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिलसहित सात जनाविरुद्ध गत असोजमा २३ करोड २७ लाख ५८ हजार रुपैयाँ बिगो माग दाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

त्यस्तै पावर सिस्टम इन सेक्युरिटी प्रिन्टिङ प्रेस एन्ड प्रेसराइज फ्युल स्टोरेज ट्याङको खरिद कार्यमा भ्रष्टाचार गरेको आरोपमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध ६९ करोड आठ लाख ८१ हजार ८५४ रुपैयाँ भ्रष्टाचारको गरेको आरोपमा बिगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर भएको थियो ।

अदालतमा मुद्दा विचाराधीन रहेकै बेला अख्तियारमा पौडेलद्वयले गैरकानूनी बाटोबाट अकुत सम्पत्ति आर्जन गरेको उजुरी परेको थियो । उनीहरूमाथि लागेको कसूर सम्बद्ध प्रमाण नष्ट गर्न सक्ने र भागी जाने सम्भावना भई अनुसन्धान कार्यमा बाधा पुग्ने देखिएपछि अख्तियारले जरुरी पक्राउ पुर्जी थमाई हिरासतमा लिएको थियो ।

पछिल्लो अध्यावधिक: चैत १८, २०८० १५:४८