close

यसरी रहस्यमयी तरिकाले अप्रिल फुलका दिन सार्वजनिक भएको थियो जिमेल

टेकपाना टेकपाना

चैत १९, २०८० १२:५

यसरी रहस्यमयी तरिकाले अप्रिल फुलका दिन सार्वजनिक भएको थियो जिमेल

काठमाडौं । गुगलका सहसंस्थापक ल्यारी पेज र सर्गेई ब्रिनलाई प्र्याङ्क निकै मन पर्थ्यो । उनीहरू अप्रिल फुलको दिन पारेर केही न केही उट्पट्याङ आइडिया बजारमा ल्याएकै हुन्थे । अप्रिल फुलको दिन कुनै व्यक्तिले पहिले झुटो कुरा गरेको छ र पछि अप्रिल फुल भनेको छ भने मानिसहरूलाई अर्को पटकबाट उनीहरूका कुरा विश्वास गर्दैनन् ।

झन् कम्पनीको सन्दर्भमा त झन् प्रयोगकर्ताको विश्वास अडिएको हुन्छ । एक पटक झुक्काएको छ भने मान्छे अर्को पटक त्यो कुरा विश्वास गर्दैनन् । विश्वास नभएका कुराबारे बुझ्न मानिस झनै उत्साहित हुन्छ । मानिसको यही स्वभाव बुझेका उनीहरूका लागि अप्रिल फुल उट्पट्याङ आइडिया सार्वजनिक गर्ने उपयुक्त दिन पनि थियो ।

एक वर्ष अप्रिल फुलकै दिन गुगलले पोस्ट राख्दै चन्द्रमामा रहेको कोपर्निकस अनुसन्धान केन्द्रमा जागिर खुलेको जानकारी दियो । अर्को वर्ष गुगलले आफ्नो सर्च इन्जिनमा ‘स्क्र्याच र स्निफ’ फिचर ल्याउने योजना भएको भन्दै पोस्ट राख्यो । यस्ता उटपट्याङ आइडिया अप्रिल फुलका दिन गुगलले सार्वजनिक गर्ने भएकाले मानिसहरू जहिले ती कुरालाई मजाकका रूपमा हेर्थे र झट्ट विश्वास गर्दैनथे ।

सर्वसाधारणमाझ त्यही भ्रम भएका बेला गुगलका संस्थापक पेज र ब्रिनले यस्तो प्रडक्ट सार्वजनिक गर्ने योजना बनाए, जसलाई मानिसहरूले २० वर्षसम्म पनि सम्भव होला भन्ने सोचेका थिएनन् । 

त्यो प्रडक्ट थियो जिमेल, जसले प्रति अकाउन्ट १ जीबी स्टोरेजसम्म निःशुल्क ईमेल सेवा दिन्थ्यो । त्यतिबेला १ जीबीसम्मको स्टोरेज भएको ईमेल सेवा त्यो पनि निःशुल्क कसैले कल्पना नै गरेको थिएनन् । अहिले आईफोनले १ टीबी स्टोरेज दिएको जत्तिकै त्यतिबेला जिमेलको १ जीबी स्टोरेज महत्त्व थियो । 

अहिले जस्तो त्यतिबेला इमेलको साइज पनि धेरै हुँदैनथ्यो । १ जीबी स्टोरेजमा झन्डै साढे १३ हजार बढी ईमेल भण्डारण गर्न सकिन्थ्यो । यति धेरै ईमेल भण्डारण गर्न सक्ने स्टोरेज भएको जिमेल किन पनि महत्त्वपूर्ण थियो भने त्यतिबेलाको लोकप्रिय वेबमेल सेवा प्रदायक याहु र माइक्रोसफ्टले ३० देखि ६० ओटा ईमेल भण्डारण गर्न सक्ने स्टोरेज उपलब्ध गराएका थिए । गुगलले उपलब्ध गराउने ईमेल सेवा याहु र माइक्रोसफ्टको तुलनामा २५० देखि ५०० गुणा बढी थियो । 

स्टोरेजका साथसाथै गुगलले जिमेलमा फोटो, ईमेल र अन्य डकुमेन्ट सहजै खोज्न सकिने फिचर पनि ल्याउने बताएको थियो । गुगलको त्यही प्रविधि प्रयोग गरेर प्रयोगकर्ता आफ्नो पुरानो ईमेल, फोटो वा अन्य महत्त्वपूर्ण डकुमेन्ट सहजै खोज्न सक्थे ।

त्यस्तै एउटै ईमेलमा एउटै विषयमा गरिएका कुराकानीलाई एउटै थ्रेड्सका रूपमा राख्न सकिने भनेपछि जिमेलको महत्त्व नै छुट्टै थियो । कम्पनीले स्टोरेज, सर्च र स्पिडलाई नै प्राथमिकतामा राखेर यस्तो सेवा दिनका लागि जिमेलको विकास गरेको बताएको थियो । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यम द एसोसिएटेड प्रेसले १ अप्रिल २००४ का दिन साँझतिर गुगलको जिमेलबारे तयार पारेको सामग्री प्रकाशन गर्‍यो । पाठकले जिमेलबारे तयार पारिएको सामग्री पढेर गुगलले प्र्याङ्क गर्न नयाँ कथा रचेको भने । 

“मानिसहरूले साँचो हो भनेर कल्पना नै गर्न नसक्ने प्रडक्ट थियो जिमेल,” गुगलका पूर्व इन्जिनियर पल बुचेटले हालैको एपी अन्तर्वार्तामा जीमेल निर्माण गर्ने आफ्नो प्रयास स्मरण गर्दै भने, “यसले वेब ब्राउजरभित्र सम्भव हुने किसिमका एप्लिकेसनका बारेमा मानिसहरूको धारणालाई नै परिवर्तन गरेको थियो ।”

'क्यारिबोउ' (Caribou) नाम दिइएको यो परियोजना सम्पन्न गर्न गुगललाई झन्डै तीन वर्ष लागेको थियो । तर, सोही परियोजनाबाट विकास भएको प्लेटफर्मको नाम क्यारिबोउ राख्ने भनेपछि धेरैलाई त्यो चित्त बुझेको थिएन । 

समाचार एजेन्सी द एपीलाई गुगलले यो मजाक गरेको होइन भन्ने थाहा थियो । एपीका रिपोर्टर उक्त समाचार तयार पार्न सान फ्रान्सिस्कोको माउन्टेन भ्युमा रहेको गुगलको मुख्यालयमै पुगेका थिए ।

एपीका रिपोर्टर गुगलको मुख्यालयमा पुग्दा जिमेल विकासको काम भइरहेको थियो । त्यो ठाउँलाई पछि 'गुगल प्लेक्स' भनियो । त्यहाँ ल्यारी पेज एउटा सानो अफिसमा ल्यापटप अगाडि राखेर काम गर्दै थिए । 

३१ वर्षका पेजले ती रिपोर्टलाई जिमेलले कसरी काम गर्छ, र माइक्रोसफ्ट तथा याहुको ईमेल सर्भिसभन्दा जिमेल के-कति फरक छ भन्नेबारे देखाए ।

रिपोर्टलाई आफ्नो प्रडक्टको विश्लेषण गर्दै पेजले जिमेलको मुख्य कन्ट्रोल विन्डोमा डिलिट बटन नभएको सुनाए । जिमेलमा १ जीबीसम्मको स्टोरेज नभएकाले डिलिट बटन आवश्यक नै नहुने र आफूले चाहेको जुनसुकै समयमा उक्त ईमेल खोज्न सकिने भन्दै पेजले आफ्नो प्रडक्टको चर्चा गरे । “मलाई लाग्छ मानिसहरूलाई यो प्रडक्ट निकै मन पर्नेछ,” रिपोर्टसँग कुरा गर्दै पेजले आफ्नो भविष्यवाणी सुनाए ।

हुन पनि उनले भनेको कुरा अहिले वास्तविकमै देख्न सकिन्छ । हाल जिमेलका झन्डै एक अर्ब ८० करोड बढी सक्रिय प्रयोगकर्ता छन् । गुगलले १ जीबीको स्टोरेज बढाएर १५ जीबीसम्म पुर्‍याएको छ । 

त्यतिबेलाको तुलनामा १५ जीबी स्टोरेज १५ गुणा बढी भए पनि प्रयोगकर्तालाई यो स्टोरेज कमै लाग्छ । किनभने १५ जीबी स्टोरेजमा ड्राइभ, फोटोज लगायत अन्य प्लेटफर्मको स्टोरेज पनि समावेश हुन्छ ।

गुगल र एप्पल जस्ता कम्पनीले प्रयोगकर्तालाई क्लाउड स्टोरेज बिक्री गरेर आम्दानी गर्दै आएका छन् । गुगलको सन्दर्भमा यसले २०० जीबी स्टोरेजका लागि वार्षिक ३० डलरसम्म लिंदै आएको छ भने ५ टीबीका लागि २५० डलर । 

सर्च इन्जिनको क्षेत्रमा ठूलो खेलाडी रहेको गुगललाई जिमेलले अन्य क्षेत्रमा पनि कम्पनीलाई हाबी बनाउन निकै मद्दत पुर्‍यायो । जिमेलपछि कम्पनीले गुगल म्याप्स र गुगल डक्स अनि गुगल शिट जस्ता एप्लिकेसन बजारमा ल्यायो ।

त्यस लगत्तै कम्पनीले भिडिओ स्ट्रिमिङ एप युट्युब आफ्नो स्वामित्वमा लिएको थियो । त्यसपछि क्रमशः क्रिम ब्राउजर र एन्ड्रोइड अपरेटिङ सिस्टम पनि गुगलले आफ्नो स्वामित्वमा ल्यायो । अहिले स्मार्टफोनको दुनियाँमा गुगल नै हाबी बनेको छ । 

गुगलले आफ्नो डेटा सेन्टर विस्तार गर्दै गएपछि प्रयोगकर्ताले पनि सहजै जिमेल अकाउन्ट बनाएर प्रयोग गरिरहन थाले । यद्यपि कम्पनीले २००७ को भ्यालेन्टाइन डेसम्म सबैलाई जिमेलमा अकाउन्ट बनाउन सकिने सुविधा दिएको थिएन । भ्यालेन्टाइन्स डेको गिफ्टकै रूपमा कम्पनीले विश्वभरका प्रयोगकर्तालाई यो सेवा निःशुल्क उपलब्ध गराउन थालेको थियो ।

त्यसको केही महिनापछि अर्थात् २००७ को अप्रिल फुलका दिन गुगलले जिमेल पेपर सर्भिस सार्वजनिक गरेको थियो । यसले गर्दा प्रयोगकर्ता आफ्नो ईमेल प्रिन्ट गर्न सक्थे र त्यसलाई इन्टरनेट नपुगेको ठाउँमा हुलाकमार्फत पठाउन सक्थे । 

पछिल्लो अध्यावधिक: चैत १९, २०८० १६:४०