close

नागरिक लगानी कोषको नयाँ मोबाइल एप सार्वजनिक, सेवाग्राहीलाई केके छन् सुविधा ?

टेकपाना टेकपाना

चैत २८, २०८० १८:३५

नागरिक लगानी कोषको नयाँ मोबाइल एप सार्वजनिक, सेवाग्राहीलाई केके छन् सुविधा ?

काठमाडौं । नागरिक लगानी कोषले नयाँ मोबाइल एप सञ्चालनमा ल्याएको छ । सेवाग्राहीकाे सहजताका लागि भन्दै कोषले ‘सीआईटी स्मार्ट मोबाइल एप’ (CIT Smart Mobile App) नामकाे एप सञ्चालनमा ल्याएको हो ।

कोषले यसअघि ‘सीआईटी मोबाइल एप’ नामक मोबाइल एप सञ्चालन गरिरहेको थियो । नयाँ एप एन्ड्रोइड तथा आईओएस दुवैमा चलाउन सकिन्छ ।

नयाँ एप बनाउने क्रममा पुरानो मोबाइल एपमा रजिस्टर भएका सहभागीले पहिलेकै युजरनेम र पासवर्डबाट भने चलाउन सक्दैनन् । एप प्रयाेगकर्ताको पुरानो युजरनेम र पासवर्ड परिवर्तन भएको र सोको जानकारी दर्ता भएको मोबाइल नम्बरमा पठाइएको कोषले जनाएको छ । त्यसरी आफ्नो मोबाइलमा आएको युजरनेम र पासवर्ड हालेर मात्र नयाँ एप चलाउन सकिने छ ।

त्यस्तै ई-सर्भिसमा दर्ता भएका सेवाग्राहीले नयाँ मोबाइल एपमा दर्ता गर्नु नपर्ने पनि कोषले उल्लेख गरेकाे छ । त्यस्ता व्यक्तिले ई-सर्भिस पोर्टलकै युजरनेम र पासवर्डबाट नयाँ एपमा लगइन गर्न सक्नेछन् । 

नयँ एपमार्फत सेवाग्राहीले छिटो र सुरक्षित रूपले खाता पहुँच गर्न सकिने, वास्तविक समयमा खाताबारे जानकारी लिन सकिने, नजिकको नागरिक लगानी कोष शाखा खोज्न मिल्ने र योगदान, म्युचल फन्ड तथा विभिन्न किसिमका बीमा स्किमबारे जानकारी लिन सक्नेछन् ।

यदि नयाँ एप चलाउँदा कुनै समस्या आएमा ०१-५९७०२०१ गरी एक्सटेन्सन १०५, १०८ वा १८७ मा सम्पर्क गर्न कोषले अनुरोध गरेको छ ।

एन्ड्रोइड प्रयोगकर्ताले नयाँ एप डाउनलोड गर्न यहाँ र आईओएस प्रयोगकर्ताले यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: चैत २८, २०८० १८:३५