काठमाडौं । खाडी मुलुकहरूमा परेको अत्यधिक वर्षाको कारण अहिले त्यहाँको जीवन अस्तव्यस्त बनेको छ । ठाउँ-ठाउँमा बाढी आउँदा ओमान, बहराइन र यूएईमा २० जनाभन्दा बढीको ज्यान गइसकेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
अलजजिराका अनुसार पछिल्लो २४ घण्टामा दुबईमा पछिल्ला केही दशकको तुलनामा सबैभन्दा ठूलो बाढी आएको छ । यसअघि त्यतिको वर्षा सन् १९४९ मा भएको थियो । अचानक परेको पानीले गर्दा बाढी आएसँगै विश्वको दोस्रो व्यस्त विमानस्थलमा उडानहरू प्रभावित भएका छन् । खाडी मुलुकमा भएको यो वर्षा र क्लाउड सिडिड प्रविधि अहिले सर्वाधिक चर्चाको विषय बनेको छ ।
त्यसो भए खाडी मुलुकमा किन यस्तो वर्षा भइरहेको छ ?
दुबई संयुक्त अरब इमिरेट्स (यूएई) को तटमा रहेको छ । सामान्यतः यो क्षेत्र अन्य क्षेत्रभन्दा धेरै सुक्खा छ । यसलाई विश्वकै सबैभन्दा गर्मी र सुक्खा हुने ठाउँमध्येको एक ठाउँका रूपमा लिइन्छ । यहाँको औसत वार्षिक वर्षा ७३ एमएम (३ इन्च) छ । र, त्यहाँको तापक्रम गर्मीमा औसत ५० डिग्री सेल्सियस हुने गर्छ । तर, कहिलेकाहीं यहाँ चरम वर्षा हुन्छ ।
दुबईभन्दा १०० किलोमिटर टाढाको अल-आइन (Al-Ain) सहरमा पछिल्लो २४ घण्टाको अवधिमा २५६ एमएम वर्षा रेकर्ड भएको छ । ओमनमा २७३ एमएम वर्षाको रेकर्ड गरिएको छ ।
दुबई र आसपासका क्षेत्रमा बढी सुक्खापन र गर्मी भएकाले मौसम सुधार गर्नका लागि नै यूएईले क्लाउड सिडिङ गरेको विज्ञहरूको भनाइ छ ।
यूएईले त्यहाँ वर्षा हुनुभन्दा केही समयअघि उक्त देशको मेटेरियोलोजी एजेन्सीले छ सात ओटा क्लाउड सिडिङ फ्लाइट उडाएको भन्दै अलजजिराले रिपोर्ट उद्धरण गरेको छ । यद्यपि अन्तर्राष्ट्रिय सञ्चार माध्यमसँको कुराकानीमा उक्त एजेन्सीले त्यस्तो कुनै फ्लाइट नगरेको दाबी गरेको छ । तर, यता द एसोसिएट प्रेसले सोमबारको फ्लाइट ट्रयाक गर्दा एउटा यूएईको बिमान क्लाउड सिडिङका लागि उडेको देखिएको छ ।
“यस क्षेत्रलाई लामो समय वर्षा नहुने, भए अस्वाभाविक ढङ्गले हुने, कहिलेकाहीं भारी वर्षा हुने क्षेत्रका रूपमा वर्गीकरण गरिएको छ । त्यही पनि अहिले भएको वर्षालाई बिरलै हुने वर्षाका रूपमा लिइएको छ,” बीबीसीसँग कुरा गर्दै युनिभर्सिटी अफ रिडिङका मौसमविद् प्राचार्य मार्टेन अम्बाउमले भने ।
विज्ञहरूका अनुसार यूएई र ओमानमा ठूलो बाढी आउँदा त्यसलाई कम गर्ने ड्रेनेज सिस्टमको त्यहाँ अभाव छ । त्यसैले कहिलेकाहीं पानी पर्दा पनि बाटो तथा विमानस्थल डुबानमा परेका हुन्छन् ।
यी पक्षलाई ख्यालै नगरी मौसम नियन्त्रण गर्ने सोचले यूएईले क्लाउड सिडिङ गर्दा सात दशक पछिकै सबैभन्दा ठूलो पानी पर्दा डुबान भएको विश्लेषण गरिएको छ ।
अहिलेको आर्टिफिसियल इन्टेलिजेन्सको जमानामा आर्टिफिसियल अर्थात् कृत्रिम वर्षा कुनै नयाँ शब्दावली होइन । बाढी, खडेरी, लु, तुफान, डढेलो जस्ता स्थितिलाई आकाशबाटै नियन्त्रण गर्ने विकल्पको खोजीको रूपमा कृत्रिम वर्षाको चर्चा हुने गर्छ ।
के हो कृत्रिम वर्षा ?
वायुमण्डलमा प्राकृतिक रूपबाट बनेको बादलले आफैं वर्षा गराउँदा हुने वर्षालाई नेचुरल अर्थात् प्राकृतिक वर्षा भनिन्छ । तर कतिपय अवस्था यस्तो हुन्छ कि, बादल बने पनि त्यसभित्रको केही अपूर्ण प्रक्रियाका कारण वर्षा हुन सक्दैन ।
अथवा वर्षात् भए पनि केवल बादलसम्ममै सीमित भइदिन्छ, धर्तीसम्म पुग्न सक्दैन । यस्तोमा एउटा विशेष प्रविधिको माध्यमबाट बादलमा वर्षाको बीउ राखेर वर्षा गराइन्छ । जसलाई कृत्रिम वर्षा भन्ने गरिन्छ । यो प्रविधिको नाम हो क्लाउड सिडिङ ।
के हो क्लाउड सिडिङ प्रविधि ?
क्लाउड सिडिङ दुई शब्द क्लाउड र सिडिङ मिलेर बनेको छ । क्लाउडको अर्थ हो बादल, अनि सिडिङको अर्थ हो बिउ रोप्ने काम । यसको अर्थ बुझ्न सबैभन्दा पहिले बादल कसरी बन्छ भन्ने बुझ्नुपर्छ । त्यसपछि त्यहाँ बिउ कसरी रोपिन्छ भन्ने बुझ्नुपर्छ ।
सबैभन्दा पहिले पदार्थका बारेमा थोरै चर्चा गरौं । पदार्थका तीन ओटा अवस्थाको हुन्छ ठोस, तरल र ग्यास । पानीको कुरा गर्दा पानी तीन ओटै अवस्थामा पाउन सकिन्छ । पानीको ठोस अवस्थालाई बरफ, तरल अवस्थालाई पानी र ग्यास अवस्थालाई बाफ भनिन्छ ।
बरफ पानी बन्ने अवस्थालाई मेल्टिङ वा पग्लिनु भनिन्छ । पानी बरफ बन्ने अवस्थालाई फ्रिजिङ अर्थात् जम्नु भनिन्छ । पानी बाफ बन्ने प्रक्रियालाई भ्यापोराइजेसन अर्थात् वाष्पीकरण भनिन्छ । बाफ पानी बन्ने प्रक्रियालाई ‘कन्डेन्सेसन’ भनिन्छ ।
जमिनको हावामा कैयौं मात्रामा पानीको बाफ हुन्छ । हावामा बढी पानीको बाफ हुँदा हावामा बढी आर्द्रता भएको भनिन्छ । विशेषगरी जाडो महिनामा हुस्सु लागेको देखिन्छ । त्यो नै हावाको बढी आर्द्रताको अवस्था हो ।
त्यस्तै हावामा पानीको बाफ कम हुँदा त्यसलाई कम आर्द्रता भएको भनिन्छ । यही पानीको बाफ जति माथि गयो त्यहाँको चिसोको कारण कन्डेन्सेसन (बाफबाट पानी बन्ने प्रक्रिया) हुन्छ । अर्थात् त्यही पानीको बाफ पानीको सानोसानो कणमा परिणत हुन्छ । जब सानो सानो पानीको कण जोडिन्छन्, त्यतिबेला आकाशमा बादल देखिन्छ ।
बादल बनाउने पानीको कण निकै सानो हुन्छ । १ एमएम पानीलाई १०० गुणाभन्दा कममा टुक्र्याइयो भने त्यो कण बन्छ ।
त्यसोभए बादलबाट पानी कसरी पर्छ ? माथि उल्लेख गरेको जस्तै बादलमा पानीको सानो सानो लाखौं कणहरू हुन्छन् । त्यसमा पानीको ससाना कण आएर जोडिने प्रक्रिया निरन्तर चल्दै जान्छ । जसले गर्दा बादल बढ्दै बढ्दै गएको देखिन्छ ।
बादल बढ्ने क्रममा पानीका कणहरू पनि आफैं आफैंमा ठोक्किएर जोडिन्छन् । जसले गर्दा पानीको कण पहिलेको भन्दा ठूलो हुन्छ । जति ठूलो कणहरू हुँदै गए बादल त्यति नै ठूलो हुन्छ । त्यसो हुँदा पानीको कण जोडिएर यस्तो अवस्था बन्छ, जहाँ त्यसको तौल धानिन मुस्किल हुन्छ । र जमिनमा खस्छ । जमिनमा झर्ने क्रममा हावाको तापक्रम कम छ भने हिउँका रूपमा भूईँमा झर्छ ।
यदि हावाको तापक्रम बढी छ भने असिनाका रूपमा झर्छ । त्यो भन्दा पनि हावाको तापक्रम बढी छ भने पानीका रूपमा जमिनमा झर्छ ।
त्यसोभए सिडिङ भनेको के हो, कसरी गरिन्छ बादलमा सिडिङ ?
बादलबाट पानी बन्नका लागि त्यहाँ कन्डेन्सेसन हुनुपर्छ । त्यही कन्डेन्सेसन छिटो गराउनका लागि त्यहाँ विशेष किसिमको रसायन प्रयोग गरिन्छ । सामान्य अर्थमा भन्दा बादलमा रसायनको छर्ने काम नै क्लाउड सिडिङ हो ।
अमेरिकी वैज्ञानिक, रसायनशास्त्री तथा मौसमविद् विन्सेन्ट जे शेफरले सन् १९४३ मा क्लाउड सिडिङको आविष्कार गरेका थिए । वैज्ञानिक शेफरनले एउटा एक्सपेरिमेन्ट गर्दा गर्दा क्लाउड सिडिङ प्रविधि आविष्कार गरेका थिए ।
खासमा भएको के थियो भने उनले गरिरहेको अनुसन्धानमा एउटा कोल्ड बक्स (चिसो बक्स) प्रयोग गरिएको थियो । त्यसमा कति चिसो छ भनेर उनी बारम्बार त्यसभित्र आफ्नो टाउको लगेर तापक्रम मापन गर्थे ।
त्यही क्रममा उनको मुखबाट श्वास निस्किंदा त्यो बाफ बनेको देखे । त्यसलाई परीक्षण गर्दै जाँदा उनले बक्सलाई अझ चिसो बनाउन त्यसमा ड्राइ आइस (कार्बन डाइअक्साइडको ठोस अवस्था) राखे ।
यो -७८ डिग्री सेल्सियसको तापक्रममा मात्र अस्तित्वमा हुन्छ । साधारण तापक्रममा राख्दा पग्लिएर बाफ बन्छ । ती वैज्ञानिकले ड्राइ आइस त्यस बक्समा राखेर श्वास फेर्दा त्यो हावा माइक्रोस्कोपिक आइस क्रिस्टलमा परिणत भयो ।
उनले त्यस घटनाबाट के पत्ता लगाए भने यदि अचानक तापक्रम निकै कम बनाउने हो भने बादल चाँडो आइस क्रिस्टल बन्छ । र, त्यही पानीका रूपमा जमिनमा खस्छ । त्यही प्रक्रियाको वास्तविक परीक्षण गर्न उनले १३ नोभेम्बर १९४६ मा न्युयोर्कबाट प्लेन उडाए ।
प्लेनमा उनले आफ्नो साथमा ढाई किलोको ड्राइ आइसको टुक्रा लिएर गएका थिए । त्यसपछि उक्त प्लेन बादलको माथि लगे र त्यहाँबाट ठूलो टुक्राको ड्राइस आइसलाई टुक्राटुक्रा बनाएर बादलमा वर्षाए । त्यसपछि त्यहाँ साँच्चै पानी वर्षीयो ।
त्यही समयमा क्लाउड सिडिङको क्षेत्रमा काम गरिरहेका अर्का वैज्ञानिक थिए डाक्टर बरहार्ड वोनिगट । उनी शेफरले भन्दा फरक तरिकाले क्लाउड सिडिङको अनुसन्धान गरिरहेका थिए । हामीले चिसो मौसममा कुनै काँचको सतहमा श्वास फुक्यौं भने त्यो पानीमा परिणत भएको देख्छौं । अर्थात् बाफले ग्यास बाहेक अन्य किसिमको सतह पायो भने चाँडो पानी बन्छ ।
त्यसका लागि कि ठोस कि तरल सतह चाहिन्छ । यी दुई किसिमका सतह भएनन् भने ग्यासबाट पानी बन्न सक्दैन । प्राकृतिक रूपमा वायुमण्डलमा हुने धुलोको कणको तहले नै त्यस्तो सतहको काम गरेको हुन्छ । त्यसैले गर्दा बाफ पानीमा परिणत हुन्छ । सतह जति मजबुत भयो कन्डेन्सेसन प्रक्रिया त्यति नै छिटो हुन्छ ।
डा. बरहार्ड त्यही शैलीलाई बादलमा प्रयोग गर्न चाहन्थे । बादलमा नन ग्यासियस सतह बनाउनका लागि रसायन प्रयोग गर्न सकिन्छ भन्ने उनको विश्वास थियो । त्यसका लागि उनले सिल्भर र आयोडाइडलाई मिसाएर सिल्भर आयोडाइड बनाए । त्यही कम्पाउन्डले राम्रो सतहको काम गर्ने उनको निष्कर्ष थियो ।
सिल्भर आयोडाइडले आर्द्रता आफूतिर सोस्छ र त्यो पानीमा परिणत हुन्छ । यसरी आर्द्रता आफूतिर आकर्षित गर्ने कम्पाउन्ड धेरै हुन्छन् । त्यही कम्पाउन्डलाई क्लाउड सिड्स वा क्लाउड कन्डन्सियसन न्युक्लियाई भनिन्छ । वैज्ञानिक शेफरले बादलमा ड्राई आइस वर्षाए जस्तै डा. बरहार्डले बादलमा सोडियम आयोडाइड वर्षाए । त्यसरी सोडियम आयोडाइड बादलमा वर्षाउँदा कन्डन्सियसनको प्रक्रिया छिटो भयो र बादल पानीमा परिणत भएर वर्षीयो ।
त्यसपछिका दिनमा विस्तारै क्लाउड सिडिङको प्रक्रिया स्तरीय हुँदै गयो । विमानमार्फत बादलमा क्यामिकल वर्षाएर पानी पार्ने तरिका महँगो भयो । त्यसको विकल्पमा जमिनबाटै रकेटमार्फत क्लाउड सिडिङ गर्ने तरिका खोजियो ।
त्यसैले कृत्रिम वर्षा गराउनका लागि त्यहाँ पहिले बादल हुनुपर्छ । जहाँ कुनै पनि बादल छैन, त्यहाँ क्लाउड सिडिङ गराउन सकिन्न । त्यसैले सबैभन्दा पहिला कृत्रिम वर्षा गराउन खोजिएको स्थानमा बादल छ कि छैन भन्ने विषय हेरिन्छ । यदि बादल छ भने कति उचाईमा छ र त्यस वरपरको वातावरणीय अवस्था के छ भन्ने कुरा पनि विचार गरिन्छ ।
त्यसपछि पूर्वानुमानको सहयोगमा वा मापन गरेर बादलमा कति पानी छ भन्ने पत्ता लगाइन्छ । त्यसपश्चात् बादलमा उपयुक्त स्थानमा सोडियम आयोडाइड (वा अन्य किसिमका केमिकल) राखिन्छ ।
उक्त केमिकलले बादलको माइक्रोफिजिकल प्रक्रिया (अर्थात् वर्षाको कण तथा बरफ) लाई तीव्र पारिदिन्छ । यसपछि वर्षाको रूपमा त्यो जमिनमा खस्छ ।
बादललाई इलेक्ट्रिक शक दिने एउटा अर्को विधि पनि छ । जसको प्रयोगबाट समेत वर्षा गराउन सकिन्छ । यो प्रक्रियामा ड्रोन प्रविधिको सहयोगमा बादलमा विद्युतीय झड्का दिइन्छ ।
कृत्रिम वर्षाको आवश्यकता
साधारणतया सुक्खा तथा बाढीको अवस्थासँग जुध्न लागि कृत्रिम वर्षा गराइन्छ । यस बाहेक जङ्गलमा भीषण आगलागी हुँदा, असहनीय गर्मी वा लु, तुफान तथा प्रदूषण कम गर्नका लागि पनि यसको प्रयोग गरिन्छ ।
विमानस्थलमा हुस्सु लाग्दा विमान उड्नै समस्या हुन्छ । त्यसैले हुस्सुको मात्रा कम गर्न पनि क्लाउड सिडिङको प्रयोग हुन्छ । त्यस्तै ठूला आकारका असिना पर्दा त्यसले पार्ने भौतिक क्षति बढी हुन्छ । असिनाको आकार घटाएर क्षति न्यूनीकरण गर्नका लागि पनि क्लाउड सिडिङको प्रयोग भइरहेको छ ।
इजरायल नियमित रूपमा कृत्रिम वर्षा गराउँछ, किनकि त्यहाँ प्राकृतिक वर्षा निकै कम हुन्छ । बुल्गेरिया देशमा पनि वर्षाको कारण हुने क्षति न्यूनीकरण गर्नका लागि क्लाउड सिडिङ गर्ने गरिएको छ ।
सबैभन्दा पहिला कहिले प्रयोगमा आएको थियो ?
अहिले यूएईले कृत्रिम वर्षा गराइरहेको भए पनि अन्य देशले पनि यसको प्रयोग गर्छन् । यूएईले क्लाउड सिडिङका लागि ड्रोनमार्फत बादलमा विद्युतीय झट्का दिएको बताइएको छ ।
यस प्रविधिका लागि यूएईले अर्बौं रकम खर्चेर अध्ययन तथा अनुसन्धान गरिरहेको थियो । सन् २०१७ मा संयुक्त राष्ट्र सङ्घको मौसमसँग सम्बन्धित सङ्गठनले ५० भन्दा बढी देशले हालसम्म क्लाउड सिडिङ गराइसकेको जनाएको थियो, जसमा अस्ट्रेलिया, जापान, इथियोपिया, जिम्बावे, चीन, अमेरिका र रुस समेत रहेका छन् । यहाँसम्म कि भारतले समेत यसको प्रयोग गरेको छ ।
प्रदूषणको मार झेलिरहेको चीन यसको अधिक प्रयोग गर्छ । सन् २००८ मा बेइजिङमा आयोजित ग्रीष्मकालीन ओलम्पिक खेल अघि चीनले पहिलो पटक क्लाउड सिडिङ प्रविधि प्रयोग गरेको थियो ।
त्यस्तै भारतले सन् १९८४ मा यसको पहिलो पटक प्रयोग गरेको थियो । त्यतिखेर तमिलनाडु भयङ्कर खडेरीको सामना गरिरहेको थियो ।
त्यसपछि तत्कालीन तमिलनाडु सरकारले १९८४-८७, १९९३-९४ को बीचमा क्लाउड सिडिङ प्रविधिको सहारा लिएको थियो । सन् २००३ र २००४ मा कर्नाटक सरकारले समेत क्लाउड सिडिङको प्रयोग गरेको थियो । सोही वर्ष महाराष्ट्र सरकारले समेत त्यसको सहयोग लिएको थियो ।
अहिलेसम्म क्लाउड सिडिङका नकारात्मक असरहरू देखिएका छैनन् । हुन त यूएईको घटनालाई नकारात्मक पक्षका रूपमा हेर्न सकिएला । तर, सो देशले ड्रेनेजको सिस्टम वर्षाको पानीले धान्न सकिने किसिमको बनाएपछि मात्र परीक्षण गर्न सक्थ्यो । त्यसलाई देशकै कमजोरीका रूपमा विज्ञहरूले औंलाएका छन् ।
त्यसको अलवा बादलमा खसाइने रसायनले पानीलाई प्रदूषित बनाउँछ कि भन्ने प्रश्न आउन सक्छ । तर, विज्ञहरूले त्यसमा रसायनको असर निकै कम हुने देखाएका छन् । यसको प्राकृतिक बेफाइदा के हुन सक्छ भने जुन ठाउँमा प्राकृतिक रूपमा वर्षा भइरहेको हुन्थ्यो त्यो ठाउँमा भने वर्षा नहुन सक्छ ।
किनभने जुन बादल उडेर त्यस ठाउँको माथि पुगेर वर्षामा परिणत हुन्छ त्यो अन्त कतै परिणत हुँदा त्यस क्षेत्रमा बादल पुग्न सक्दैन । जसले गर्दा प्राकृतिक रूपमा कुनै क्षेत्रमा हुने वर्षा प्रभावित हुन सक्छ ।