close

चन्द्रमामा फोरजी सेवा विस्तार गर्दै नासा र नोकिया

टेकपाना टेकपाना

बैशाख १५, २०८१ ८:५१

चन्द्रमामा फोरजी सेवा विस्तार गर्दै नासा र नोकिया

काठमाडौं । चन्द्रमामा स्ट्रिमिङ तथा मेसेजिङ फिचर उपलब्ध गराउन अमेरिकी अन्तरिक्ष एजेन्सी नासा र सूचना प्रविधि कम्पनी नोकियाले सहकार्य ‍गर्ने भएका छन् । नासाको आर्टेमिस परियोजनाका लागि सेलुलर कनेक्सन आवश्यक पर्ने भएकाले यी दुई कम्पनीबीच सहकार्य हुन लागेकाे हाे । 

सीएनएनको एक रिपोर्ट अनुसार उनीहरूले ‍चन्द्र सतहमा फोरजी नेटवर्क सुरु गर्नेछन् । यसले आर्टेमिस परियोजनामार्फत चन्द्रमामा जाने अन्तरिक्ष यात्रीहरूसँग सम्पर्क गर्न सहयोग गर्ने बताइएको छ । 

परियोजनाको लक्ष्य चन्द्रमामा मानवलाई पुन: पठाउनु र मंगल ग्रहको मानव अभियानको लागि तयारी गराउनु रहेको छ । यसका लागि सेलुलर नेटवर्क इन्स्टल गर्न यी दुई संस्थाले एलन मस्कको कम्पनी स्पेस एक्सको रकेट प्रयोग गर्नेछन् ।

उक्त रकेटको ल्यान्डरमा फोरजी सेवाका लागि आवश्यक प्रविधि राखिने छन् । जुन नोकियाको बेल ल्याब्सले बनाउने छ । रकेटको सोही भाग चन्द्रमाको दक्षिणी गोलार्द्धमा अवतरण गर्ने छ । त्यसपछि फोरजी सेवाको इन्स्टलेसन गर्ने काम हुने छ । एक पटक नेटवर्क इन्स्टल गरिसकेपछि त्यसलाई पृथ्वीबाटै नियन्त्रण गर्न सकिने छ । 

यदि नासा र नोकियाको यो परियोजना सफल भए चन्द्रमासँगको सञ्चार क्षमतामा निकै उपलब्धि हुने छ । यसका साथै चन्द्रमा थप अन्वेषण गर्न मार्ग प्रशस्त हुने छ । यद्यपि कहिले उक्त रकेट प्रक्षेपण हुन्छ भनेर भने केही खुलाइएको छैन ।

पछिल्लो अध्यावधिक: बैशाख १५, २०८१ ११:४४