काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले एसिया क्षेत्र अन्तर्गत ‘आईसीसी डिजिटल फ्यान इङ्गेजमेन्ट अफ द इयर २०२३’ अवार्ड पाएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले ‘एसिया रिजनल विनर’ घोषणा गर्दै क्यानलाई याे अवार्ड दिएको हो ।
क्रिकेटका गतिविधिमा डिजिटल मिडियामार्फत सक्रिय भएकाले क्यानलाई अवार्ड दिइएको आईसीसीले जनाएको छ ।
सन् २०२३ मा मात्रै ४८३ प्रतिशतले क्यानकाे फेसबुक रिच बढेकाे छ । त्यस्तै कन्टेन्ट इन्टरयाक्सनमा ४१३ प्रतिशतले वृद्धि भएको छ । क्यानको सम्पूर्ण सोसल मिडिया गरी चार करोड ६० लाख रिच भएको छ ।
आईसीसीका अनुसार नेपालले अब अन्तर्राष्ट्रिय अवार्ड हात पार्न चार अन्य क्षेत्रीय विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
आईसीसीले अन्तर्राष्ट्रिय अवार्डका लागि ६ विधामा २१ राष्ट्रलाई मनोनित गरेको छ । 'आईसीसी डेभलपमेन्ट इनिसिएटिभ अफ द इयर', '१०० प्रतिशत क्रिकेट वुमेन्स क्रिकेट इनिसिएटिभ अफ द इयर', 'आईसीसी डिजिटल फ्यान इङ्गेजमेन्ट अफ द इयर', 'क्रिकेट ४ गुड सोसल इम्प्याक्ट इनिसिएटिभ अफ द इयर', 'आईसीसी एसोसिएट मेम्बर मेन्स पर्फर्मेन्स अफ द इयर', र 'आईसीसी एसोसिएट मेम्बर वुमन्स पर्फर्मेन्स अफ द इयर' गरी ६ विधामा अवार्ड दिइनेछ ।
आईसीसी महाप्रबन्धक विलियम ग्लेनराइटद्वारा जारी विज्ञप्तिमा लेखिएको छ, "हामी क्षेत्रीय विजेताहरू घोषणा गर्न पाउँदा खुसी छौं । सफल सदस्य संघहरूलाई बधाई दिन चाहन्छु ।"
अवार्ड जितेको खबर आफ्नो आधिकारिक फेसबुक पेजमार्फत शेयर गर्दै क्यानले ह्यासट्याग राइनोआर्मी (#RhinoArmy) लाई समर्थन र सहयोगको लागि धन्यवाद समेत दिएको छ ।