close

फोनमा ठूलो स्वरले बोलेपछि विवाद हुँदा बहिनीको हत्या गर्ने दाइ ९ वर्षपछि पक्राउ

टेकपाना टेकपाना

बैशाख १७, २०८१ १३:१

फोनमा ठूलो स्वरले बोलेपछि विवाद हुँदा बहिनीको हत्या गर्ने दाइ ९ वर्षपछि पक्राउ

काठमाडौं । ०७१ सालतिर तत्कालीन म्याग्दी कुहु गाविस वडा न. ५ घर भएकी २३ वर्षीय सुनमाया किसान कीर्तिपुर कृषि कार्यालयमा जेटीएका रूपमा काम गर्थिन् । त्यहाँ काम गर्दा उनको बसाइँ काठमाडौंको तौथलीस्थित कुष्ठरोग आरोग्य आश्रममा थियो । त्यहाँ उनका मामा गंगाबहादुर सार्की पनि बस्थे । 

सोही आश्रममा गंगाबहादुरका छोरा अर्थात् नाताले सुनमायाका दाइ समरबहादुर पनि आइरहन्थे । उनी ज्यामी काम गर्थे । उनको बसाइँ काठमाडौंको ढुङ्गेअड्डामा थियो । त्यही क्रममा ३१ असोज २०७१ का दिन बेलुकी समर बाबु गंगाबहादुरलाई भेट्न आरोग्य आश्रम पुगेका थिए । तर, त्यहाँ उनका बाबु थिएनन् । गंगाबहादुर केही व्यक्तिगत कामले बाहिर गएका थिए ।

त्यसपछि उक्त कोठामा समर र सुनमाया मात्र थिए । दुवै जना बेलुकीको खान खाएर सुत्ने तरखर गरिरहेका थिए । "त्यसको केही समयपछि सुनमायाले मोबाइलमा ठूलो स्वरले कुरा गर्न थालिन्," अनुसन्धानमा खटिएका एक अधिकारीले टेकपानासँग भने, "त्यो देखेपछि समरले ‘राति ठूलो स्वरमा कुरा नगर, म थाकेर आएको छु, सुत्न देऊ’ भनेर फोन खोसिदिए ।"

प्रहरीका अनुसार त्यही कुरामा सुनमाया र समरको झगडा भयो । सुनमायाले छेउमै भएको हँसिया उठाएर समरलाई प्रहार गरिन् । जसले गर्दा समरको बुढी औंलामा चोट लाग्याे । समरले उनको हातबाट हँसिया खोस्न खोजे, तर सुनमायाले उनको हातमै टोकिदिइन् । 

"त्यसलगत्तै समरले सुनमायाको टाउकोमा हातले हिर्काए । उनी लड्दा छेउमै रहेको पलङको डिलको धारमा टाउको पर्‍यो," घटनाको बेलिविस्तार लगाउँदै अनुसन्धान अधिकृतले भने, "र, उनी बेहोस् भइन् । झन्डै आधा घण्टासम्म कुर्दा पनि सुनमायाको होस आएन ।"

त्यसपछि समरले सुनमायाको घाँटी थिचेर मारे । अनि बिहान ४ बजेतिर सुनमायाको शव नजिकैको शौचालयमा राखे । बिहान करिब ८ बज्दा उनी कोठाबाट निस्किएर भारततर्फ लागे ।

१ कात्तिक २०७१ मा शौचालयमा सुनमायाको शव भेटिएपछि प्रहरीलाई खबर गयो । प्रहरीले घटनास्थलमा पुगेर मुचुल्का सङ्कलन गर्‍यो ।

यता समर भारतमै बस्न थाले । केही दिनअघि मात्रै उनी काठमाडौं आएको खबर प्रहरीलाई पुगेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले समरलाई आइतबार काठमाडौंको चान्लाखेल क्षेत्रबाट नियन्त्रणमा लियो । ४७ वर्षीय समरमाथि थप अनुसन्धान गर्न प्रहरी वृत्त कीर्तिपुर पठाइएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख १७, २०८१ १३:२०