काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायले स्नातकोत्तर तहका विषयमा शैक्षिक सत्र २०८१/०८२ का लागि छात्रवृत्तिमा भर्ना हुन इच्छुकका लागि प्रवेश परीक्षा सञ्चालन गर्ने भएकाे छ । एक सूचनामार्फत विश्वविद्यालयको संकाय प्रवेश परीक्षा समितिले १० प्रतिशत छात्रवृत्ति (पाँच प्रतिशत जेहेनदार र पाँच प्रतिशत आरक्षित)का भर्नाका लागि अनलाइन आवेदन फाराम खुलाएको हो ।
इच्छुक र योग्य विद्यार्थीले २९ वैशाखसम्म दुई हजार शुल्क तिरेर फाराम भर्न सक्नेछन् । त्यसैगरी दोब्बर दस्तुर तिरेर १ जेठसम्म आवेदन दिन सक्नेछन् । आवेदन दिँदा विद्यार्थीले आफ्नो सम्पूर्ण शैक्षिक योग्यताका प्रमाणपत्र, पासपोर्ट साइजका फोटो अपलोड गर्नुपर्ने विश्वविद्यालयले जनाएकाे छ ।
प्रवेश परीक्षा ५ जेठमा हुनेछ ।
अहिले यस संकाय अन्तर्गत मास्टर अफ कम्प्युटर एप्लिकेसन (एमसीए), मास्टर अफ इन्फर्मेसन टेक्नोलोजी (एमआईटी) लगायतका आईटी विषय पढाइ हुन्छ ।
यी विषयको विद्यार्थी कोटा ३० र शुल्क दुई लाख ९० हजार रुपैयाँ रहेको संकायका निर्देशक नरेश कुमार शाहले बताए । शाहका अनुसार एउटा विषयमा १० विद्यार्थी मात्र भर्ना भए एक जनाले छात्रवृत्ति पाउने र ५० प्रतिशतभन्दा बढी विद्यार्थी भर्ना भए दुई जनाले छात्रवृत्ति पाउने छन् ।