close

अवरुद्ध इन्टरनेट साढे ६ घण्टापछि चल्यो

टेकपाना टेकपाना

बैशाख २०, २०८१ २२:४५

अवरुद्ध इन्टरनेट साढे ६ घण्टापछि चल्यो

काठमाडौं । बिहीवार दिउँसोदेखि अवरुद्ध इन्टरनेट पुनः सुचारु भएको छ । वर्ल्डलिङ्क कम्युनिकेसन्स, सुबिसु केबलनेट, भायानेट कम्युनिकेसन्स, सीजीनेट, टेकमाइन्ड्स नेटवर्क, वाईफाई नेपाल लगायत निजी क्षेत्रका इन्टरनेट सेवाप्रदायकहरूले सूचना जारी गर्दै अवरुद्ध सेवा पुनः सञ्चालनमा आएको जानकारी दिएका हुन् ।

दिउँसो करिब ४ बजेदेखि अधिकांश इन्टरनेट सेवाप्रदायकको सेवा अवरुद्ध भएको थियो । त्यतिबेला इन्टरनेट सेवाप्रदायकहरूले अपस्ट्रिम सेवाप्रदायकलाई अन्तर्राष्ट्रिय ब्यान्डविथ बापतको रकम भुक्तानी गर्न नपाउँदा इन्टरनेटको लिङ्क काटिएको उल्लेख गरेका थिए । 

सेवाप्रदायकले इन्टरनेट नियमित रूपमा चलेको जानकारी दिएपनि स्थायी समाधान भए/नभएकोबारे केही खुलाएका छैनन् । 

इन्टरनेटको मर्मत सम्भार शुल्कमा रोयल्टी र  ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) दस्तुर लाग्ने कि नलाग्ने भन्ने विषयमा लामो समयदेखि सरकार र सेवाप्रदायकबीचको विवाद जारी छ । सेवाप्रदायकले मर्मत सम्भार दूरसञ्चार सेवा अन्तर्गत नपर्ने अडान राख्दै मर्मत सम्भारबाट लिएको शुल्क बाहेकको आम्दानीबाट रोयल्टी र आरटीडीएफ​ दस्तुर बुझाउँदै आएका छन् ।

सरकारले भने मर्मत सम्भारमा पनि रोयल्टी र आरटीडीएफ दस्तुर लाग्ने भन्दै सेवाप्रदायकहरूको नाममा दशौं करोड रुपैयाँ बक्यौता उठाउन ताकेता गर्दै आएको छ । यही बक्यौता समयमै नतिरेको भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विदेशी मुद्रा सिफारिस रोकिदिएको छ ।

सरकार र सेवाप्रदायकबीचको विवादका कारण भारतीय अपस्ट्रिम प्रोभाइडरले करिब एक वर्षदेखि ब्यान्डविथ बापतको रकम पाएका छैनन् । गत हप्तामात्रै नेपालमा ७० प्रतिशत अन्तर्राष्ट्रिय ब्यान्डविथ आउने भारतीय अपस्ट्रिम प्रोभाइडर भारती एयरटेलले आफूले भुक्तानी नपाए जुनसुकै बेला इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने भनी सेवाप्रदायकहरूलाई पत्राचार गरेको थियो । 

निजी क्षेत्रका इन्टरनेट व्यवसायीहरूको संगठन इन्टरनेट सेवाप्रदायक संघ, नेपाल (आईस्पान)का अनुसार इन्टरनेट ब्यान्डविथका लागि​ अपस्ट्रिम प्रोभाइडरहरूलाई तीन अर्ब रुपैयाँभन्दा बढी रकम भुक्तानी गर्न बाँकी छ ।

पछिल्लो अध्यावधिक: बैशाख २१, २०८१ ९:१७