काठमाडौं । गुगलका अन्य प्लेटफर्मजस्तै युट्युबमा पनि एआई फिचर आउने भएको छ । अहिले परीक्षणमा रहेको युट्युबको जेन-एआई फिचरले क्रियटरलाई नयाँ शैलीका भिडिओबारे जानकारी दिने बताइएको छ ।
युट्युब सपोर्ट पेजमा कम्पनीले युट्युबमा आउन लागेको नयाँ एआई फिचरबारे जानकारी दिएको छ । “अब नयाँ भिडिओ कस्तो बनाउने भन्ने कुरा सजिलो बनाउन क्रियटरका लागि हामी एआई टुल परीक्षण गरिरहेका छौं,” सपोर्ट पेजमा भनिएको छ ।
यदि तपाईं क्रियटर हुनुहुन्छ भने डेस्कटपमा युट्युब स्टुडियो खोलेर एनालिटिक्समा गई ‘रिसर्च’ भन्ने अप्सनमा जानुपर्ने हुन्छ । त्यसपछि तपाईंले कस्तो भिडिओ राख्दा अडियन्सले रुचाउँछन् भन्ने उल्लेख गरिएको हुन्छ ।
कम्पनीका अनुसार यो फिचरले क्रियटरलाई उनीहरूका अडियन्सले कस्तो कन्टेन्ट वा टपिक बढी हेर्न चाहेका छन् भन्ने विषयमा जानकारी दिन्छ ।
त्यस्तै क्रियटरले पहिले कहिल्यै प्रयास नगरेका कन्टेन्टको एङ्गल आइडियाको बारेमा पनि जानकारी दिन यो टुलले मद्दत गर्ने कम्पनीले जनाएको छ । अहिले यो फिचर केही सीमित क्रियटरमाझ मात्र उपलब्ध छ । विशेषगरी अङ्ग्रेजी भाषामा भिडिओ बनाउने क्रियटरले यो फिचर पाएको कम्पनीले जनाएको छ ।
हालै मात्र युट्युबले ‘आस्क’ बटन सहितको एआई फिचर ल्याएको छ । प्रयोगकर्ताका लागि ल्याइएको यो फिचरको सहायताले प्रयोगकर्ताले कुनै पनि भिडिओको जानकारी लिन सक्नेछन् । विशेषगरी आफूले हेर्न लागेको भिडिओ कस्तो भिडिओ हो, त्यसमा के-कस्ता जानकारी छन् लगायतका प्रश्न सोध्न सकिनेछ ।
१ मेदेखि यो फिचर विभिन्न क्षेत्रका प्रयोगकर्तामाझ उपलब्ध भइरहेको छ । नेपालमा भने अहिलेसम्म यो फिचर उपलब्ध भइसकेको छैन ।