close

५ करोड डेल प्रयोगकर्ताको डेटा लिक, ह्याकरले दुरुपयोग गर्ने चिन्ता

टेकपाना टेकपाना

बैशाख २९, २०८१ १४:५४

५ करोड डेल प्रयोगकर्ताको डेटा लिक, ह्याकरले दुरुपयोग गर्ने चिन्ता

काठमाडौं । डेल प्रयोगकर्ताको महत्त्वपूर्ण जानकारी बाहिरिएको छ । कम्पनीले आफ्ना ग्राहकलाई ईमेल पठाउँदै विवरण लिक भएको जानकारी दिएको हो । 

९ मेमा कम्पनीले आफ्ना ग्राहकलाई ‘डेटा ब्रिच’ भएको विषयमा ईमेल पठाएको छ । 'तपाईंको डेल इन्फरमेसनको बारेमा महत्त्वपूर्ण सन्देश' डेटा ब्रिच भएका ईमेलमा सब्जेक्ट राख्दै कम्पनीले यस विषयमा जानकारी दिएको छ ।

ब्रिच भएको डेटामा कम्पनीले प्रयोगकर्ताको नाम, ठेगाना र उक्त डिभाइसको डेल हार्डवेयर, सर्भिस ट्याग, डिस्क्रिप्सन, अर्डर गरेको मिति, वारेन्टी लगायतका जानकारी छन् ।

उक्त ईमेलमा प्रयोगकर्ताको कुनै पनि वित्तीय वा भुक्तानीसँग सम्बन्धित विवरण, ईमेल एड्रेस, टेलिफोन नम्बर र अन्य संवेदनशील जानकारी नरहेको स्पष्ट पारेको छ । 

त्यस्तै डेली डार्क वेबमा एक ह्याकरले डेलको डेटा ब्रिच गरेको दाबी गरेका छन् । गत अप्रिल महिनामा डेलबाट चोरिएको सो सूचना बिक्रीका लागि राखिएको फोर्ब्सले जनाएको छ ।

उक्त सूचनामा चार करोड ९० लाख प्रयोगकर्ताको विवरण रहेको दाबी गरिएको छ । विशेषगरी २०१७ देखि २०२४ बीचमा डेलको ल्यापटप खरिद गर्ने प्रयोगकर्ताको जानकारी समावेश भएको दाबी गरिएको छ ।

यता डेलका प्रवक्ताले विज्ञप्ति जारी गर्दै डेल टेक्नोलोजिजको साइबर सुरक्षा कार्यक्रम आफ्ना ग्राहक र पार्टनरलाई पर्नसक्ने असरहरूबारे मूल्याङ्कन गरेर जोखिम कम गर्न डिजाइन गरिएको बताएका छन् ।

उक्त कार्यक्रमले सम्भावित जोखिम तथा आक्रमणलाई मध्यनजर गर्दै त्यही अनुसार काम कारबाही अगाडि बढाउने उनले बताएका छन् । हालै भएको डेटा ब्रिचमा त्यस्तो संवेदनशील जानकारी नभए पनि ह्याकरले आफूलाई प्राप्त जानकारीलाई विभिन्न तवरले दुरुपयोग गर्नसक्ने उनको भनाइ छ ।

पछिल्लो अध्यावधिक: बैशाख २९, २०८१ १४:५४