काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी सेवाप्रदायक ई-नेटको अनुमति पत्र खारेज गरेको छ । सोमबार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले ई-नेटको अनुमति पत्र खारेज भएको जानकारी दिएको हो ।
ई-नेटले २१ फागुन २०७६ मा भुक्तानी सेवा प्रदायकको रूपमा काम गर्ने गरी अनुमति प्राप्त गरेको थियो । तर नियामकको निर्देशन परिपालना नगरेको देखिएकाले कम्पनीको अनुमति प्राप्त खारेज गरिएको राष्ट्र बैंककाे सूचनामा उल्लेख छ ।
त्यस्तै भुक्तानी तथा फर्स्यौट ऐन, २०७५ को दफा ३५ को उपदफा १ को खण्ड (ङ) र (च) तथा भुक्तानी तथा फर्स्यौट विनियमावली, २०७७ (संशोधन सहित) को विनियम ३५ को १ (ग) को व्यवस्था बमोजिम ई-नेटको भुक्तानी उपकरण सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाई अनुमतिपत्र खारेज गरिएको बैंकले जनाएको छ ।
ग्राहकहरूलाई कम्पनीसँग कुनै लेनदेन/दायित्व बाँकी रहेको भए सूचना प्रकाशित भएको ३० दिनभित्र सम्बन्धित कम्पनीमा सम्पर्क गर्न समेत राष्ट्र बैंकले अनुरोध गरेको छ ।