close

एप्पल सफारीमा एड ब्लकर आउने भएपछि बेलायती मिडियाहरूको आपत्ति

टेकपाना टेकपाना

जेठ १, २०८१ १३:५७

एप्पल सफारीमा एड ब्लकर आउने भएपछि बेलायती मिडियाहरूको आपत्ति

काठमाडौं । एप्पलले आफ्नो वेब ब्राउजर सफारीमा ल्याउने नयाँ फिचरले पत्रकारको आर्थिक सङ्कट निम्त्याउने भन्दै बेलायती सञ्चारगृहहरूले आपत्ति जनाएका छन् । अब सफारीमा आउन सक्ने अनलाइन विज्ञापन बन्द गर्ने क्षमताले मारमा पार्ने भन्दै विभिन्न सञ्चारगृहहरूले आपत्ति जनाएका हुन् ।

एप्पलको आउँदो डेभलपर कन्फ्रेन्समा आईओएस १८ सँगै एआईमा आधारित गोपनीयता सम्बन्धी फिचर आउने सम्भावना छ । सो फिचरले वेबसाइटमा भएका विज्ञापन हटाउने र निश्चित भाग लुकाउन सक्ने छ । यदि त्यसो भए प्रयोगकर्ताहरूले सफारीमार्फत वेबसाइटमा आउने विज्ञापनहरू स्वतः बन्द गर्न सक्नेछन् ।

फाइनान्सियल टाइम्सका अनुसार यसले सञ्चारगृहरूको आर्थिक स्रोतमा समस्या निम्त्याउने भन्दै बेलायतको न्युज मिडिया एसोसिएसन (एनएमए)ले आपत्ति जनाउँदै एप्पललाई पत्र पनि पठाएको छ । 

यस फिचरले कन्टेन्ट क्रियटरको आम्दानीमा गिरावट गर्ने र भविष्यमा काम गर्न नसक्ने परिस्थिति सिर्जना हुने एनएमएको भनाइ छ । यद्यपि एप्पलले भने यसमा कुनै पनि सार्वजनिक टिप्पणी गरेको छैन ।

पछिल्लो अध्यावधिक: जेठ १, २०८१ १३:५७