close

नक्कली फेसबुक आईडीको भर परेर बेलायत जाने आशमा गुम्यो ४१ लाख रुपैयाँ

टेकपाना टेकपाना

जेठ १, २०८१ २१:११

सांकेतिक तस्वीर सांकेतिक तस्वीर

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकबाट जोडिएर वर्किङ भिसामा बेलायत पठाइदिने भन्दै ४१ लाख बढी ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बझाङ घर भई हाल कीर्तिपुर बस्दै आएका २३ वर्षीय योगेन्द्र बाग रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले अनलाइन ठगी गरेको आरोपमा ती युवालाई सोमबार कीर्तिपुरबाट पक्राउ गरेको हो । कार्यालयका अनुसार हालै एक व्यक्तिले आफू अनलाइन ठगीमा परेको भन्दै उजुरी दिएका थिए ।

पीडित युवकका अनुसार 'निश टुर्स लिमिटेड होम' नामको अकाउन्टबाट उनलाई फेसबुकमा साथी बन्ने अनुरोध आएको थियो । ती व्यक्तिले उक्त अनुरोध स्वीकारे, अनि उनीहरूबीच अनलाइनमै कुराकानी हुन थाल्यो ।

कुरा हुँदै गएपछि सो अकाउन्टबाट युवालाई वैदेशिक रोजगारीका लागि बेलायतमा वर्किङ भिसामा पठाइदिने भन्ने प्रलोभन देखाइयो । र, त्यस वापत विभिन्न समयमा विभिन्न बैंक अकाउन्टमा रकम जम्मा गर्न लगाइयो ।

यसरी ती पीडित युवाले बेलायत जाने आशमा विभिन्न समयमा ४१ लाख १५ हजार ४२० रुपैयाँ पठाइदिए । तर, पछि अनलाइनमा कुरा गरेका व्यक्ति गायब भएपछि पीडित युवाले कार्यालयमा उजुरी दिएका थिए । त्यसैका आधारमा अनुसन्धान गर्दै जाँदा बाग पक्राउ परेका हुन् । उनीमाथि ठगी सम्बन्धी कसुरमा जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: जेठ १, २०८१ २१:११