close

साम अल्टम्यानलाई ओपनएआईबाट हटाउन भूमिका खेल्ने इल्या सुत्स्केभरले छोडे कम्पनी

टेकपाना टेकपाना

जेठ २, २०८१ १५:१६

साम अल्टम्यानलाई ओपनएआईबाट हटाउन भूमिका खेल्ने इल्या सुत्स्केभरले छोडे कम्पनी

काठमाडौं । ओपनएआईका सहसंस्थापक तथा प्रमुख वैज्ञानिक रहेका इल्या सुत्स्केभरले कम्पनी छाेड्ने भएका छन् । सामाजिक सञ्जाल एक्समा एक पोस्ट लेख्दै इल्या सुत्स्केभरले ओपनएआई छाड्ने बताएका हुन् ।

“करिब एक दशकपछि मैले ओपनएआई छोड्ने निर्णय गरेको छु,” सुत्स्केभरलेले एक्समा लेखेका छन् । यसका साथै उनले अन्य सहकर्मीहरू साम अल्टम्यान, ग्रेग ब्रोकम्यान, मिरा मुराती र जाकुब पचोकीको नेतृत्वमा आर्टिफिसियल जेनेरेल इन्टेलिजेन्स (एजआीई) निर्माण हुने विश्वास व्यक्त गरेका छन् । उक्त एजीआई सुरक्षित र लाभदायक दुवै हुने उनको भनाइ छ ।

माइक्रोसफ्टको ठूलो लगानी रहेको ओपनएआईलाई अहिलेको उचाइमा पुर्‍याउन इल्या सुत्स्केभरको भूमिका पनि उत्तिकै छ । विशेष गरेर एआईमा नाफाको स्वार्थ मिसिनु हुन्न भन्ने पक्षमा उनी थिए । गत वर्षको नोभेम्बरमा साम अल्टम्यानको नाटकीय बर्खास्ती र नियुक्तिमा सुत्स्केभरले मुख्य भूमिका खेलेका थिए । त्यतिबेला उनी ओपनएआईको बोर्डमा थिए ।

ओपनएआईले यस हप्ता मात्रै एक कार्यक्रम गर्दै आफ्नो नयाँ मोडल सार्वजनिक गरेको थियो । समग्रमा अहिले ओपनएआईको विकास निकै उच्च गतिमा भइरहेको छ । यस्तोमा सहसंस्थापक समेत रहेका इल्या सुत्स्केभरले कम्पनी छाड्नुलाई निकै महत्त्वका साथ हेरिएको छ ।

सुत्स्केभर लामो समय देखि एआई क्षेत्रमा नै रहेका छन् । ओपनएआई स्थापना गर्नु अघि गुगल ब्रेनमा अनुसन्धानकर्ताको रूपमा उनी कार्यरत थिए । उनको व्यक्तिगत वेबसाइटका अनुसार उनी स्ट्यानफोर्डमा अनुसन्धानकर्ता पनि थिए ।

ओपनएआईबाट बाहिरिएसँगै उनले अब आफ्नै नयाँ परियोजनामा ​​कामका गरिरहने जनाएको छ । जुन उनका लागि अर्थपूर्ण भएको र समय आएपछि सम्पूर्ण जानकारी दिने बताएका छन् ।

पछिल्लो अध्यावधिक: जेठ २, २०८१ १५:४५