close

जमिनमुनि बिजुलीको तार बिछ्याइँदै, ६ महिनाभित्र पोलबाट इन्टरनेट केबल र सीसीटिभी हटाउन अनुरोध

टेकपाना टेकपाना

जेठ ३, २०८१ ९:५१

जमिनमुनि बिजुलीको तार बिछ्याइँदै, ६ महिनाभित्र पोलबाट इन्टरनेट केबल र सीसीटिभी हटाउन अनुरोध

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भूमिगत विद्युत वितरण प्रणालीको निर्माण सम्पन्न गरेको छ । प्राधिकरणले पेप्सीकोला-जडीबुटी, लैनचौर-नारायणगोपाल चोक, चुच्चेपाटी-चाबहिल-मित्रपार्क, कलंकी-त्रिपुरेश्वर, कालीमाटी-बल्खु, कीर्तिपुर-रिङरोड र सामाखुशी टाउन प्लानिङमा उक्त भूमिगत वितरण प्रणाली परीक्षण गरी केही दिन भित्रमा नै सञ्चालनमा ल्याइने बताएको छ ।

यसबाट विद्युत वितरणको दक्षता र सुरक्षा बढ्ने प्राधिकरणको विश्वास छ । यसअन्तर्गत विद्युतका पोलहरू हटाउने र ओभरहेड वितरण लाइनहरूलाई भूमिगत गर्ने काम समेत हुने प्राधिकरणले जनाएको छ ।

यसको परिणामस्वरूप यी स्थानहरूमा रहेका पोलहरूमा जडान गरिएका इन्टरनेट केबल, अप्टिकल फाइबर, सीसीटीभी क्यामेरा, सडक बत्ती लगायतका संरचना एवं उपकरणहरू ६ महिनाभित्र हटाउन सम्बन्धित सरोकारवालालाई प्राधिकरणले अनुरोध गरेको छ ।

यदि तोकिएको अवधिभित्र यी उपकरणहरू नहटाइए प्राधिकरणले पोल लगायतका ओभरहेड संरचना हटाउँदा हुने क्षतिप्रति जिम्मेवारी नलिने जनाएको छ । भूमिगत विद्युत प्रणालीले सहरको दृश्य र सौन्दर्यतामा पनि सुधार हुने तथा नेपालको ऊर्जा क्षेत्रमा एक ठूलो परिवर्तन ल्याउने बताइएको छ ।

पछिल्लो अध्यावधिक: जेठ ३, २०८१ १०:१५