close

जसले बनाए दिवङ्गत बुबाको एआई च्याटबट…

टेकपाना टेकपाना

जेठ ६, २०८१ २३:७

जसले बनाए दिवङ्गत बुबाको एआई च्याटबट…

काठमाडौं । सन् २०१६ तिरको कुरा हो । अमेरिकाको क्यालिफोर्निया राज्यको ओकल्यान्डका जेम्स भ्लाहोसले आफ्ना बुबा अन्तिम चरणको क्यान्सरबाट ग्रसित भएको खबर पाए । “म मेरो बुबालाई धेरै माया गर्थें,” बीबीसीसँग कुरा गर्दै जेम्स भन्छन्, “म उहाँलाई गुमाउँदै थिएँ ।”

उनी आफ्नो बुबासँगको बाँकी समय सदुपयोग गर्न चाहन्थे । “त्यसका लागि मैले उहाँसँग ओरल हिस्ट्री प्रोजेक्ट गरे, जहाँ मैले उहाँको जीवन कथा रेकर्ड गर्न घण्टौं बिताएँ,” उनी सुनाउँछन् ।  

संयोगवश त्यतिबेला जेम्स आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा आफ्नो करिअर खोजिरहेका थिए । त्यसैले पनि उनको यो परियोजनाले छिट्टै विकास हुने मौका पायो । 

“मैले सोचेँ, यदि मैले केहीगरी यही अडिओको भरमा अन्तर्क्रिया गर्न सक्ने केही बनाएँ भने के होला ?,” उनी भन्छन्, “उहाँका सम्झना र उहाँको व्यक्तित्वको केही अनुभूति सधैं आफ्नै वरिपरि राख्नका लागि यो धेरै अद्भूत थियो ।”

जेम्सका बुबा सन् २०१७ मा बिते । त्यतिबेला जेम्सले आफूले रेकर्ड गरेको अडिओलाई एआईद्वारा सञ्चालित च्याटबटमा परिणत गरिकेका थिएनन् । बुबाको निधन भएपछि उनले त्यही अडिओको भरमा यस्तो च्याटबट तयार पारे, जसले उनकै बुबाको आवाजमा उनको जीवनको बारेमा जानकारी दिन सक्थ्यो ।

मृत मान्छेको सम्झनालाई एआईद्वारा आर्टिफिसियल दुनियाँमा ल्याउने कुरा साइन्स फिक्सन फिल्ममा मात्र देखिन्थ्यो । तर, एआई प्रविधिमा भएको विकासले यसलाई वास्तविक जीवनमै सम्भव हुने बनाएको छ ।

सन् २०१९ मा जेम्सले आफूले तयार पारेको च्याटबटलाई एपमा परिणत गरे । र, व्यावसायिक रूपमा अगाडि बढाए । त्यसको नाम उनले ‘हिअर आफ्ट एआई’ राखे । यो त्यस्तो च्याटबट हो, जसले मृत भएका आफन्तलाई भर्चुअल रूपमा सँगै भएको आभाष दिन सक्छ । 

पिताको मृत्युको पीडालाई नमेटे पनि च्याटबटले आफूलाई धेरै थोक दिएको जेम्स सुनाउँछन् । उनका अनुसार दिंवङ्गत भएका व्यक्तिको अस्पष्ट सम्झानामा निर्भर हुनुभन्दा मानिससँग भएको उपयोगी र विस्तृत स्रोत (अडिओ, भिडिओ वा फोटोको सङ्कलन)ले नै दिवङ्गत व्यक्तिबारे थप जानकारी दिलाउन सहयोग गरेको छ । 

हिअर आफ्टर एआईका प्रयोगकर्ताले दिवङ्गत व्यक्तिको फोटो अपलोड गर्न सक्छन् । सो फोटो फोन वा कम्प्युटरको स्क्रिनमा देखिन्छ । अनि त्यसैसँग अन्तर्क्रिया गर्न सक्छन् ।

दक्षिण कोरियाली कम्पनीले तयार पारेको डिपब्रेन एआईले भने भिडिओमा आधारित अवतार बनाउँछ । यसका लागि उक्त टुलले घण्टौंको भिडिओ, फोटो र अडिओ लिन्छ । र, मान्छेका हरेक गतिविधिलाई केलाउँछ । 

“हामी ९६.५ प्रतिशत सटीकताका साथ मान्छेको क्लोनिङ गर्न सक्छौं,” डिप ब्रेनका प्रमुख वित्तीय अधिकृत माइकल जङ भन्छन्, “त्यसैले एआई अवतार नै भएपनि अधिकांश परिवारलाई आफ्नो बितेको मान्छेसँग कुरा गर्न असहज हुँँदैन ।

कम्पनीका अनुसार यो प्रविधिले ‘वेल डाइङ’ संस्कृतिको विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्छ । यस्तोमा मानिसहरू मृत्यु अगावै पारिवारिक इतिहास, कथा, घटनाक्रम तथा सम्झनालाई जीवित विरासतका रूपमा छाड्छन् । र, नयाँ पुस्ताले आफ्नो पुस्ताको बारेमा बढी जान्न पाउँछन् । 

यसरी अडिओ, भिडिओ र फोटो मार्फत एआई अवतार बनाउने प्रक्रिया सस्तो भने छैन । त्यसका लागि उनीहरूले एआई कम्पनीलाई ५० हजार डलर (करिब ६६ लाख ५० हजार रुपैयाँ) सम्म तिर्नुपर्ने हुन्छ । महँगो भए पनि कतिपय लगानीकर्ता यो प्रविधि आगामी दिनमा निकै चर्चित हुन्छ भन्नेमा विश्वस्त छन् ।

बीबीसीको सहयोगमा

पछिल्लो अध्यावधिक: जेठ ७, २०८१ ११:१२