close

सेक्युरिटी प्रेस भ्रष्टाचार मुद्दामा विकल पौडेलसँगै दोषी ठहर इन्जिनियरले गरे आत्महत्या

टेकपाना टेकपाना

जेठ ११, २०८१ १७:९

सेक्युरिटी प्रेस भ्रष्टाचार मुद्दामा विकल पौडेलसँगै दोषी ठहर इन्जिनियरले गरे आत्महत्या

काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदसम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले दोषी ठहर गरेका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर नवीनकुमार पोखरेलले आत्महत्या गरेका छन् । बिहीबार बिहान भक्तपुरको लोकन्थलीस्थित निजी निवासमा उनले आत्महत्या गरेका हुन् । 

प्रहरी वृत्त, ठिमीका प्रहरी नायब उपरीक्षक प्रेमसागर केसीका अनुसार पोखरेल बिहान १० बजेतिर झुन्डिएको अवस्थामा फेला परेका थिए । “आत्महत्या गरेको देखेपछि आमा र छोरीले डोरी काटेर अस्पताल लग्नु भएको रहेछ, त्यही क्रममा बाटोमै बित्नुभएछ,” टेकपानासँगको कुराकानीमा उनले भने, “कोठामा सुसाइड नोट पनि भेटिएको छ । तर, त्यसमा मेरो मृत्युको जिम्मेवार म नै हो । कसैलाई दोष नदिनु भनिएको छ ।”

मृतक पोखरेलको शव केएमसी मेडिकल कलेज दुवाकोट लगि पोस्टमार्टम समेत भइसकेको प्रहरीको भनाई छ । परीक्षणको प्रतिवेदन भने आउन बाँकी छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा भ्रष्टाचार आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । उनी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट प्रतिनिधिको रूपमा सुरक्षण मुद्रण केन्द्रमा खटिएका थिए । अख्तियारले ३ वैशाख २०८० मा विशेष अदालतमा सो सम्बन्धी मुद्दा दायर गरेको थियो । सोही अनुसार ८ जेठमा इन्जिनियर नवीनकुमार पोखरेलमाथि ६ महिना कैद र पाँच करोड ८४ लाख बिगो र त्यति नै रकम जरिबानाको फैसला सुनाएको थियो ।

 

पछिल्लो अध्यावधिक: जेठ ११, २०८१ १७:१२