close

एलन मस्क भन्छन्- म एलियन हुँ, तर यो कुरा कसैले विश्वास गर्दैनन्

टेकपाना टेकपाना

जेठ १२, २०८१ १२:५९

एलन मस्क भन्छन्- म एलियन हुँ, तर यो कुरा कसैले विश्वास गर्दैनन्

काठमाडौं । सामान्यतः पृथ्वी बाहिर बस्ने जीवलाई एलियन भनेर चिन्ने गरिन्छ । पृथ्वीमा यसबारे अनेकन् किस्सा छन्, जुन वैज्ञानिक रूपमा पुष्टि हुन भने सकेको छैन । ​अर्बपति उद्यमी एलन मस्कले भने आफैंमाथि व्यङ्ग्य गर्दै आफू एलियन भएको बताएका छन् ।

पेरिसमा हालै भएको भिभा टेक इभेन्टमा बाेल्दै टेस्ला र स्पेसएक्सका दूरदर्शी प्रमुख कार्यकारी अधिकृत (सीईओ) मस्कले आफूलाई एक एलियन भएको घोषणा गरे । उनको यो वक्तव्य अन्य ग्रहको अवस्थाबारे लामो समयदेखि चलिरहेको अफवाहको जिज्ञासालाई हास्यपूर्ण प्रतिक्रियाको रूपमा आएको बुझिएको छ ।

“हो, यो सत्य हो । म यो संसारको होइन,” मस्कले आफैंलाई व्यङ्ग्य गर्दै भने, “मैले सबैलाई भनिरहेको छु कि म एक एलियन हुँ, तर यो कुरा कसैले विश्वास गर्दैनन् ।”

प्रविधिका यी महारथी खेलाडीको यस्तो कुराले अहिले सञ्जालमा चर्चा पाइरहेको छ । विश्लेषकहरूले यो कुराको पछाडि मस्कले आफ्ना भावी रहस्य लुकाइरहेको तर्क गरेका छन् । केहीले मस्कका अन्तरिक्ष अन्वेषण र न्यूरल प्रविधिमा भएका भूमिकाहरू बाहिरी बुद्धिमत्ताबाट प्रभावित हुन सक्छन् भन्ने लख काटेका छन् ।

कार्यक्रममा भर्चुअल माध्यमबाट बोल्दै एलियनको अस्तित्वबारे उनले भनेका छन्, “सायद यो आकाशगंगामा हामी एक्लै छौं, हुनसक्छ हामी मात्र छौं र हाम्रो चेतना अत्यन्त कम छ ।” 

त्यस्तै एलियनको अस्तित्वबारे केही प्रमाण भेटे आफूले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा शेयर गर्ने पनि उनले बताए ।

कार्यक्रममा एलन मस्कले आफ्नो मङ्गल ग्रहको योजना पनि सुनाए । अबको १० वर्षभित्र मङ्गल ग्रहमा मानव पुग्ने उनले दाबी गरेका छन् । आफ्नो कम्पनी स्पेसएक्सको योजना जीवनलाई बहुग्रह बनाउने भएकाले यो योजना चाँडै साकार हुने उनको विश्वास छ ।

पछिल्लो अध्यावधिक: जेठ १२, २०८१ १३:३६