close

शिक्षक सरुवाको काम अब अनलाइनबाटै

टेकपाना टेकपाना

जेठ १५, २०८१ १५:१३

शिक्षक सरुवाको काम अब अनलाइनबाटै

काठमाडौं । सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकहरूले अब अनलाइनमार्फत सुरुवाको काम गर्न सक्ने भएका छन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालये 'शिक्षक सरुवासम्बन्धी निर्देशिका, २०८१' स्वीकृत गर्दै यस्तो व्यवस्था गरेको हो । 

यससँगै सरुवाका लागि शिक्षकले विभिन्न ठाउँमा धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ । अब कुनै पनि विद्यालयमा पद खाली भएको सूचना अनलाइनबाट हेर्न मिल्ने, त्यसमा योग्य शिक्षकले अनलाइनबाटै आवेदन दिन सक्ने, नियुक्ति पाए त्यसको जानकारी अनलाइनमार्फत नै पाउन सकिने छ ।

शिक्षा नियमावली २०५९ को नियम १९२ को खण्ड (ङ)ले दिएको अधिकार प्रयोग गरी मन्त्रालयले यो निर्देशिका जारी गरेको हो । अब कुनै पनि विद्यालयमा दरबन्दी रिक्त भइसकेपछि उक्त विद्यालयले त्यसबारे आफ्नो शैक्षिक व्यवस्थापन सूचना प्रणाली अपडेट गर्नु पर्ने छ । 

यससँगै विद्यालयले स्थानीय निकायलाई सात दिन भित्र जानकारी गराउँछ । अनि विद्यालयको दरबन्दी रिक्त भएबारे प्रमाणित गर्छ । अब शिक्षक सेवा आयोगबाट स्थायी लेखी पठाउने र स्थायी शिक्षक सरुवा गरेर ल्याउने गरी उक्त दरबन्दी पदपूर्ति गर्ने दुई तरिका छन् । 

विद्यालयलाई स्थायी शिक्षक सरुवा गरेर ल्याउँछौँ भन्ने लाग्यो भने व्यवस्थापन समितिले निर्णय गरेर विद्यालयले सोही अनुसार स्थानीय तहलाई अनुरोध गर्छ । विद्यालयको सो ब्यहोराको अनुरोध पछि स्थानीय तहले १५ दिनको सूचना प्रकाशित गर्छ ।  

उक्त सूचना स्थानीय तहले आफ्नो वेबसाइट, आफ्नो र विद्यालयको सूचना पाटीमा पनि प्रकाशित गर्छ । सँगसँगै जिल्लाको शिक्षा विकास तथा समन्वय इकाई र शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमीमा पनि सो सूचना प्रकाशित हुन्छ । यसरी एउटै सूचना एकभन्दा बढी ठाउँमा प्रकाशित हुने विद्यालय शिक्षा महाशाखाका सहसचिव रामप्रसाद शर्माले बताए । 

सो विज्ञापनमा योग्यता पुगेका सम्बन्धित तहका विषय मिल्ने देशैभरका शिक्षकहरूले व्यक्ति स्वयं उपस्थित भएर अथवा ईमेलमार्फत आवेदन दिन सक्नेछन् । यसले गर्दा पर्वत जिल्लामा खुलेको दरबन्दीमा झापामा कार्यरत शिक्षकले आफू बसेको स्थानबाटै आवश्यक कागजपत्र सहित आवेदन दिन सक्ने उनको भनाइ छ । त्यसरी आउने सबै प्रकारका दरखास्तलाई विद्यालयले दर्ता गर्नुपर्ने हुन्छ ।

अब दरखास्त दर्ता गर्ने अन्तिम दिन कार्यालय समयपछि कति ओटा दरखास्त परे भनेर प्रधानाध्यापकले प्रमाणित गरेर अन्तिम सूची प्रकाशित गर्नुपर्ने हुन्छ । त्यसमा शिक्षकको नाम, कार्यरत विद्यालयको नाम, तालिम/योग्यता, स्थायी भएको मिति, विद्यालयमा कार्यरत मिति लगायतका विवरण हुन्छ । जसलाई विद्यालयले आफ्नो सामाजिक सञ्जाल अथवा वेबसाइटमा प्रकाशित गर्छ । त्यसले गर्दा क-कसले दरखास्त दिए भनेर सबैले हेर्न सक्ने छन् । 

अब तीन दिनभित्रमा यही निर्देशिका अनुसार प्रधानाध्यापकले प्राथमिकीकरण  पनि गर्छन् । सो बीचमा प्रधानाध्यापकले प्राथमिकीकरणमा पहिलो नम्बरमा भएकालाई व्यवस्थापन समितिमार्फत नियुक्ति दिने भनेर निर्णय गराउँछन् । सो निर्णय भएलगत्तै विद्यालयले फोन अथवा ईमेलमार्फत नियुक्ति भएबारे जानकारी दिन्छ ।

निवेदक शिक्षक आफ्नो विद्यालयमा काम गरिरहेको हुन्छ । यता विद्यालयले भने सहमति पत्रसहित अन्य आवश्यक पर्ने काजजपत्र सम्बन्धित स्थानीय निकायमा पठाउने गर्छ । यदि सहमति पाउने शिक्षक एउटै स्थानीय तहका छन् भने स्थानीय तहले सरुवा गराउँछ । जिल्ला भित्रको अर्को स्थानीय तह भए अथवा अर्को जिल्लाको भए ईकाइले सरुवा गराउँछ ।

यसरी विद्यालयको एकीकृत सूचना प्रणाली र ईमेलसँग शिक्षक सरुवालाई जोडिएकाले अनलाइनमार्फत यो काम गर्न सकिने उनले बताए । यसले गर्दा पढाउन छाडेर नै सहमति पत्र लिन जानुपर्ने अथवा पहुँच लगाउन कसैमा जानुपर्ने बाध्यता हट्ने उनको भनाइ छ ।

पछिल्लो अध्यावधिक: जेठ १५, २०८१ १८:२३