१० वर्षमा ३० खर्बको आईटी सेवा निर्यात गर्ने सरकारको लक्ष्य, ५ लाखलाई रोजागारी दिने
जेठ १५, २०८१ १५:५२
काठमाडौं । सरकारले आगामी १० वर्षमा ३० खर्बको आईटी सेवा निर्यात गर्ने र पाँच लाख रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ । मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्ताे लक्ष्यसहित नेपाललाई सूचना प्रविधिको हबको रूपमा विकास गरिने बताएका छन् ।
“सूचना प्रविधि क्षेत्रमा १० वर्षमा ३० खर्ब रुपैयाँको निर्यात गर्ने र पाँच लाख प्रत्यक्ष तथा १० लाख अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्यसहित आगामी आर्थिक वर्षलाई सूचना प्रविधि दशकको प्रस्थान वर्षको रूपमा अगाडि बढाइनेछ,” उनले भने, “सूचना प्रविधिलाई अर्थतन्त्रको संवाहकको रूपमा स्थापित गरिनेछ ।”
सूचना प्रविधिका नवीनतम् प्रविधि अबलम्बन गर्न कानूनी आधार तयार गरिने उनको भनाइ छ ।
मन्त्री पुनले अगाडि भने, “कृत्रिम बाैद्धिकमता विकास प्रवर्द्धन र नियमनको विकास गरिनेछ । सूचना प्रविधिको क्षेत्रमा नीतिगत स्थायित्व सहित उच्च गतिको भरपर्दो र किफायती इन्टरनेट सेवा डेटा सुरक्षा र बाैद्धिक सम्पत्ति संरक्षण प्रदान गरिनेछ ।”
पछिल्लो अध्यावधिक: जेठ १५, २०८१ १६:२
