काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी १० वर्षभित्र ३० खर्ब रुपैयाँ बराबरको आईटी उत्पादन निर्यात गर्ने महत्त्वकांक्षी योजना सम्भव भएको बताएका छन् ।
बुधवार पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री पुनले आर्थिक वर्ष २०८१/८२ को बजेटमा पाँच रूपान्तरणकारी क्षेत्रमा सूचना प्रविधि विकासलाई समावेश गरिएको भन्दै विश्वमा नेपालको आईटी क्षेत्रलाई प्रतिस्पर्धी बनाउने गरी कार्यक्रम ल्याइएको बताए ।
''१० वर्षमा ३० खर्ब बराबरको उत्पादन निर्यात गर्ने लक्ष्य तथ्यांकमा बसेर गरिएको दाबी हो.'' उनले भने ।
नेपालको आईटी क्षेत्रको जनशक्ति, अवस्थिति र अहिले भइरहेको प्रयत्नले त्यो सम्भव भएको उनले दाबी गरे । यसका लागि सरकारले केही क्षेत्रमा ज्ञान पार्क र केही क्षेत्रमा वर्क स्टेसन स्थापना गर्ने योजना ल्याएको उनले बताए ।
आईटी कम्पनीलाई इन्टरनेट, बिजुली र सुरक्षाको प्रबन्ध गरी यस्ता क्षेत्रमा तीन वर्षसम्म निःशुल्क काम गर्न दिने गरी तत्कालै काम अघि बढाउने उनले जनाए ।