close

जन्मदर बढाउन डेटिङ एप सञ्चालन गर्दै जापान सरकार

टेकपाना टेकपाना

जेठ २६, २०८१ १४:५७

जन्मदर बढाउन डेटिङ एप सञ्चालन गर्दै जापान सरकार

काठमाडौं । जन्मदर सुधार गर्न जापानले आफ्नै डेटिङ एप सार्वजनिक गर्ने भएको छ । विशेषगरी एकल नागरिकलाई लक्षित गरेर जन्मदर वृद्धि गर्ने उद्देश्य सहित सरकारले यस्तो एप सार्वजनिक गर्न लागेको हो । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार टोकियो महानगर सरकारले यसका लागि विभिन्न तयारी गरिरहेको छ । सरकारको नेतृत्वमा तयार हुन लागेको सो एप २०२४ को अन्तिमतिर सार्वजनिक गरिने अपेक्षा गरिएको छ । 

यो परियोजना अन्तर्गत ‘टोकियो फुटारी स्ट्रोरी’ नामको कार्यक्रम सञ्चालन भइरहेको छ । विशेषगरी आर्टिफिसियल इन्टेलिजेन्सको सहायताले मानिसहरूलाई जोडी बनाउ यो प्रोग्रामले सघाउने बताइएको छ ।

जापानमा जोडीलाई ‘फुटारी’ शब्दले जनाइन्छ । देशमा बिहे नगर्ने तथा एकल बस्ने प्रवृत्ति मौलाउँदै गएकाले पछिल्लो समय विवाह र जन्मदर घटेको विभिन्न रिपोर्टले उल्लेख गरेका छन् । 

टोकियो फुटारी स्टोरी कार्यक्रममा आवेदन दिनका लागि आवेदनकर्ताले विभिन्न किसिमका परिचय खुल्ने प्रमाणपत्र बुझाउनु पर्ने हुन्छ । विशेषगरी कर तिरको कागजात र एक्लो भएको आधिकारिक प्रमाणपत्र पेस गर्नुपर्ने हुन्छ । मनोरञ्जनभन्दा पनि सम्बन्धप्रति गम्भीर भएको र बिहे नै गर्ने हो भन्ने प्रतिवद्धता दिंदै हस्ताक्षर गर्नुपर्ने हुन्छ । 

यो एप निजी कन्ट्रयाक्टरले तयार पार्न र यसले बजारमा भएका अन्य डेटिङ एपमा देखिएका समस्या समाधान गर्ने त्यहाँका सरकारी अधिकारीहरूको भनाइ छ । र, यसका लागि १२ लाख डलर खर्च हुने अनुमान गरिएको छ ।

जापानको कूल जनसङ्ख्या १२ करोड ३९ लाख रहेकोमा गत वर्ष सात लाख २७ हजार २७७ ओटा जन्म भएको छ । त्यस्तै फर्टिलिटी रेट (एक महिलाले आफ्नो जीवनभर दिने कूल जन्म) १.२६ बाट घटेर १.२० पुगेको थियो । जनसङ्ख्या स्थिर हुनका लागि भने फर्टिलिटी रेट २.१ वा सोभन्दा माथि हुनुपर्ने हुन्छ ।

पछिल्लो अध्यावधिक: जेठ २६, २०८१ १५:९