close

आईफोन १६ मा ब्याट्री तात्तिने समस्या कम हुने

टेकपाना टेकपाना

जेठ २७, २०८१ ११:४

आईफोन १६ मा ब्याट्री तात्तिने समस्या कम हुने

काठमाडौं । आईफोन १५ सिरिज सार्वजनिक हुँदा धेरैले उक्त फोन अत्यधिक तात्तिने गरेको गुनासो गरेका थिए । एप्पलले पछि नयाँ सफ्टवेयर अपडेटमार्फत सो समस्या समाधान हुने प्रतिवद्धता दियो । तर, अझै पनि प्रयोगकर्ताले उक्त सिरिजको फोन तात्तिने गरेको गुनासो गरिरहेका छन् । 

यो समस्यालाई कम्पनीले गम्भीर रूपमा लिएको छ र यसलाई आईफोन १६ मा दोहोरिन नदिन कसरत गरिरहेको छ । लिकर मजिन बुले लिक गरेको आईफोन १६ को ब्याट्रीमा यो समस्या कम हुने सङ्केत देखिएको छ । 

सार्वजनिक भएको आईफोन १६ को ब्याट्रीको आकार भने आईफोन १५ जत्तिकै छ । त्यसमा रोचक कुरा त के छ भने यसको ब्याट्री मेटलले कभर गरिएको छ । अधिकांश स्मार्टफोनको ब्याट्री कालो फोइल (Black Foil) ले कभर गरिएको हुन्छ । जसले प्रभावकारी रूपमा तापलाई रोकिराख्न सक्दैन । मेटल केसले भने ब्याट्री तात्नबाट रोक्ने र ताप व्यवस्थापन गर्ने बताइएको छ । 

लिक भएको ब्याट्रीको फोटोमा त्यसको क्षमता ३५९७ एमएएच भएको देख्न सकिन्छ । आईफोन १५ मा भने ३३६७ एमएएचको ब्याट्री थियो । जसले गर्दा तुलनात्मक रूपमा आईफोन १६ को ब्याट्री १५ को तुलनामा ठूलो छ । यसले गर्दा आईफोन १६ को ब्याट्री लाइफ पनि बढी हुन्छ । 

यो ब्याट्री आईफोन १६ का सम्पूर्ण सिरिज आईफोन १६, आईफोन १६ प्लस, आईफोन १६ प्रो र आईफोन १६ प्रो म्याक्समा हुने अपेक्षा गरिएको छ । आईफोन १६ प्रो म्याक्सको नाम सम्भवतः आईफोन १६ अल्ट्रा हुन सक्छ । र, यो सिरिज आगामी सेप्टेम्बरमा सार्वजनिक हुनेछ । 

सोमबार हुने डब्लुडब्लुडीसी २०२४ मा एप्पलले एआई फिचरहरू घोषणा गर्ने अपेक्षा गरिएको छ । विशेषगरी आईओएस १८ मा उपलब्ध हुने ती फिचर आईफोन १६ सिरिजमा पहिले नै लोड भएर आउनेछन् ।

पछिल्लो अध्यावधिक: जेठ २७, २०८१ ११:१३