काठमाडौं । गत फेब्रुअरीमा च्याटजीपीटी निर्माता ओपनएआईले टेक्स्ट टु भिडिओ अर्थात् निर्देशन दिइएको आधारमा भिडिओ बनाउने टुल सोरा ल्याएको थियो । यस टुलले एक मिनेटसम्मका एचडी भिडिओ बनाउन सक्छ ।
सार्वजनिक रुपमा उपलब्ध नगराइएको यो टुल क्षमताका कारण निकै चर्चित छ । यसै समयमा चिनियाँ वैज्ञानिकहरूले पनि सोरा जस्तै टेक्स्ट टु भिडिओ टुल बनाएको दाबी गरेका छन् ।
टिकटक शैलीको एप बनाएर चिनिएको ‘क्वाइशो टेक्नोलोजी’ नामक चिनियाँ कम्पनीले सोरालाई टक्कर दिने टुल बनाएको जनाएको हो । यस कम्पनीले नयाँ टुक्स्ट टु भिडिओ मोडलको नाम क्लिङ (Kling) दिइएको छ ।
क्लिङमा प्रयोग भएको प्रविधि सोरा जस्तै भएको बताइएको छ । किनकि यस टुलले पनि १०८० रेजाेलुसनको दुई मिनेटसम्मको भिडिओ बनाउन सक्छ ।
कम्पनीले सार्वजनिक गरेको डेमो भिडिओ हेर्दा वास्तविक र काल्पनिक दुवै संसारलाई टुलले भिडिओमा उतार्न खोजेको देख्न सकिन्छ । यसका साथै ती भिडिओ ओपनएआईको सोरासँग धेरै नजिक पाएको पाउन सकिन्छ । अहिले एआई क्षेत्रमा काम गरिरहेका व्यक्तिहरूले क्लिङले तयार पारेका ती भिडिओहरू शेयर गरिरहेका छन् ।
अहिले यो एआई मोडललाई कम्पनीले आफ्नो क्वाइशो (Kuaishou) एपमार्फत चलाउन पहुँच दिइरहेको बताइएको छ । तर सो एप चलाउन भने चिनियाँ फोन नम्बर आवश्यक पर्ने उल्लेख गरिएको छ ।