काठमाडौं । फोटोग्राफीको क्षेत्रमा लाइका क्यामेरा निकै चर्चित जर्मन ब्रान्ड हो । यही ब्रान्डले आईफोन प्रयोगकर्तालाई लक्षित गर्दै नयाँ मोबाइल एप सार्वजनिक गरेको छ । एप्पलको एप स्टोरमा उपलब्ध लाइक एलयूएक्स नामक एपबाट उत्कृष्ट फोटोग्राफी गर्न सकिने बताइएको छ ।
लाइका क्यामेरा एजीले एफजोडर्न इलेक्ट्रा एएस नामक कम्पनीसँग सहकार्य गर्दै विकास गरेको यो एपमार्फत प्रयोगकर्ताले व्यावसायिक फोटोग्राफी गर्न सक्ने जनाइएको छ । एपमा लाइकाको प्रसिद्ध फोटोग्राफी विधि र तरिकाहरू राखिएका छन् ।
विशेष गरेर उच्च गुणस्तरका क्यामेरा र लेन्सका कारण लाइका प्रसिद्ध छ । अब सोही फिचर आईफोन प्रयोगकर्ताले लाइकाको मोबाइल एपमार्फत पाउन सक्ने बताइएको छ ।
त्यस्तै एपमा प्रोफेसनल क्यामेरामा पाइने रअ फर्म्याट, हिस्टोग्राम, फोकस पिकिङ जस्ता फिचर रहेका छन् । साथै एपमा फोटोलाई अझ राम्रो बनाउन एक्सपोजर/फोकस/कलर मिलाउने प्रोफेसनल टुलहरू दिइएका छन् ।
यसका साथै चलाउन सजिलो हुनुका साथै एपमा विभिन्न फिल्टर समेत दिइएका छन् । यद्यपि यसका सबै फिचर प्रयोग गर्न भने तपाईंले शुल्क तिर्नुपर्ने हुन्छ ।