काठमाडौं । एलन मस्कले अपरेटिङ सिस्टम लेभलमा एप्पलले ओपनएआई इन्टिग्रेट गरे त्यस कम्पनीका सबै प्रडक्टमा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् । सोमबार सम्पन्न एप्पलको डेभलपर्स कन्फेरेन्स (डब्लूडब्लूडीसी) मा कम्पनीले ओपनएआईलाई आफ्नो ओएसमा इन्टिग्रेट गर्ने बताएपछि मस्कले यस्तो चेतावनी दिएका हुन् ।
“यदि एप्पलले ओएस लेभलमा ओपनएआई इन्टिग्रेट गर्यो भने मेरो कम्पनीमा एप्पल डिभाइस प्रतिबन्धित हुनेछन्,” एक्समा पोस्ट राख्दै मस्कले भनेका छन्, “यो अस्वीकार्य सुरक्षा उलङ्घन हो ।”
सोही पोस्टको रिप्लाईमा उनले उनको कम्पनीमा जाने अन्य व्यक्तिले पनि कम्पनीभित्र फोन लिन नपाउने नीति बनाउने बताएका छन् । “भिजिटरले पनि ढोकामै एप्पल डिभाइस जाँच गर्न दिनुपर्ने हुन्छन्, जहाँ ती डिभाइस फाराडे केजमा राखिनेछन् ।”
उक्त पोस्टपछि एप्पलले आफ्ना प्रयोगकर्ताको डेटा ओपनएआईलाई बिक्री गर्न थालेको तर्क दिंदै आएका छन् । “एप्पल आफ्नै एआई निर्माण गर्न त्यति स्मार्ट छैन । तर, ओपनएआईले प्रयोगकर्ताको सेक्युरिटी र प्राइभेसी सुरक्षित राख्न सक्छ भन्ने सुनिश्चित गर्न सक्षम छ,” उनले एप्पललाई व्यङ्ग्य हान्दै भनेका छन्, “एक पटक ओपनएआईको हातमा डेटा पारिसकेपछि के हुन्छ भन्ने एप्पललाई थाहै छैन ।”
त्यस लगत्तै अर्को मिम राख्दै ओपनएआईले आईफोन प्रयोगकर्ताबाट कसरी डेटा लिन्छ अनि उक्त डेटा हातमा पार्न एप्पलले कसरी भूमिका खेल्छ भन्ने विषय साङ्केतिक रूपमा देखाएका छन् ।
“यसअघि जब मोडेल स्कार्लेट जोहनसनले ओपनएआईलाई आफ्नो आवाज प्रयोग नगर्न भनेकी थिइन् । तर, उनीहरूले क्लोन गरे र प्रयोग गरेरै छाडे,” डज डिजाइनर नामको एक्स ह्यान्डलले लेखेको छ, “अब कल्पना गर्नुहोस् तपाईंले प्रयोग गर्ने पहुँच नदिंदा पनि उनीहरूले तपाईंको फोनको सबै डेटा के के गर्न सक्छन् होला ।”
उक्त पोस्टलाई मस्कले समर्थन गरेका छन् । नोभेम्बर २०२२ मा च्याटजीपीटी सार्वजनिक भएको थियो । त्यसपछि एलन मस्क त्यसको विरोध गर्दै आएका थिए । यसो त मस्क च्याटजीपीटी निर्माता कम्पनी ओपनएआईका सह-संस्थापक पनि थिए । उनले पछि त्यसमा आर्थिक सहायता मात्र गर्दै आएका थिए ।
तर, पछि कम्पनीले माइक्रोसफ्ट आर्थिक सहयोग पायो र नयाँ नयाँ प्रविधिमा काम गर्न थाल्यो । मस्कले भने मानवताको हितका लागि खोलेको कम्पनी नाफामुखी हुँदै गएको र मानवताको हित विपरीत गएको तर्क गर्छन् । पछिल्लो समय मस्क पनि आफ्नै एआई स्टार्टअप एक्स एआईमा काम गरिरहेका छन् ।