काठमाडौं । युरोपियन युनियन (ईयू) ले चीनबाट युरोपमा आयात हुने सवारी साधनमा अर्को महिनादेखि थप कर लगाउने भएको छ । युरोपियन कमिसनले बुधबार गरेको घोषणा अनुसार विदेशी सवारी साधन आयातमा हाल लाग्दै आएको १० प्रतिशत शुल्कका साथै अतिरिक्त चिनियाँ विद्युतीय गाडी (ईभी) मा ३८ प्रतिशतसम्म दस्तुर लाग्ने भएको हो ।
चिनियाँ विद्युतीय सवारी साधन निर्माताहरूले आफ्ना प्रतिस्पर्धीभन्दा सस्तोमा ईभी बिक्री गर्न राज्य-संरक्षित अनुदानबाट लाभ लिइरहेको विषयमा एक महिना लामो अनुसन्धानपछि ईयूले यस्तो कदम चालेको हो । एक स्वतन्त्र अनुसन्धान प्रदायक रोडियम ग्रुपले हालै गरेको एक अनुसन्धानका अनुसार युरोपेली सङ्घमा आयात हुने कूल विद्युतीय सवारी साधन मध्ये चीनमा बनेका मात्रै करिब ३७ प्रतिशत रहेका छन् ।
युरोपियन कमिसनले चिनियाँ ईभीको "उल्लेखनीय असमान प्रतिस्पर्धी लाभ हटाउन" र "समान मैदानमा गरिने प्रतिस्पर्धा" लाई सुनिश्चित गर्न नयाँ कर लगाइएको बताएको छ । वृद्धि भएको शुल्क कम्पनी अनुसार भिन्न हुनेछ ।
जसअनुसार बीवाईडीले १७.४ प्रतिशत, जिलीले २० प्रतिशत र एसएआईसीले ३८.१ प्रतिशत भन्सार शुल्कको समाना गर्नुपर्नेछ । यो परिवर्तनसँग चीनको वाणिज्य मन्त्रालय भने खुसी छैन ।
"ईयूले तथ्य र डब्लूटीओ (विश्व व्यापार सङ्घ) को नियमलाई बेवास्ता गरेको छ, चीनको तर्फबाट बारम्बार गरिएका असहमतिलाई बेवास्ता गरेको छ र थुप्रै ईयू सदस्य राष्ट्रका सरकार र उद्योगको छलफल तथा अनुरोधलाई बेवास्ता गरिएको," चीनको सरकारी निकायले एक वक्तव्यमा भनेको छ ।
राष्ट्रपति जो बाइडनले समेत गत महिना अमेरिकामा समान किसिमको कदम चालेका थिए । जसअन्तर्गत चिनियाँ बिजुली गाडीको आयातमा २५ देखि १०० प्रतिशतसम्म दस्तुर बढाइएको छ । बजारमा चीनका सस्ता ईभीले ल्याउन सक्ने बाढी र घरेलु कार निर्माताको व्यवसाय नै बन्द हुनसक्ने त्रासबिच यस किसिमको प्रतिक्रिया अमेरिका र युरोपेली सङ्घबाट आएको हो ।