close

एनसेलमा ९ लाख बढी नम्बरबाट आफूलाई मन परेको सिम लिन पाइने

टेकपाना टेकपाना

असार ४, २०८१ १५:४१

एनसेलमा ९ लाख बढी नम्बरबाट आफूलाई मन परेको सिम लिन पाइने

काठमाडौं । तपाईंलाई मनपर्ने कुनै नम्बर तपाईंको आफ्नै मोबाइल नम्बर बने के होला ? एक विशेष नम्बर जसले तपाईंलाई दूरसञ्चार सेवामा पहुँचमात्र दिंदैन, बरु तपाईंको जीवनको कुनै महत्त्वपूर्ण दिन वा मिठो सम्झनाको प्रतिबिम्ब पनि बन्छ । ग्राहकको यही इच्छालाई पूरा गर्न एनसेलले ‘मेरो नम्बर, मेरै च्वाइस’ योजना सञ्चालनमा ल्याएको छ ।

यससँगै अब ग्राहकले आफूलाई मनपर्ने अन्तिमको ६ ओटा अङ्क रोजेर आफ्नो मोबाइल नम्बर आफैं बनाउन सक्नेछन् । त्यसमा पनि जन्मदिन, आफ्नो सहयात्रीलाई पहिलो पटक भेटेको दिन, सवारी साधनको नम्बर वा अन्य कुनै महत्त्वपूर्ण मिति वा नम्बर राखेर सधैंको लागि आफ्नै मोबाइल नम्बरमा परिणत गर्न सकिने कम्पनीले जनाएको छ । 

त्यसबाहेक आफूले महत्त्वपूर्ण अङ्क राखेर तयार पारेको नम्बर आफ्ना प्रियजनहरूलाई उपहारका रूपमा समेत दिन सकिने कम्पनीले जनाएको छ । “उदाहरणका लागि, श्रीमानले  अन्तिमको छ अङ्क xxx९४० भएको नम्बर लिन सक्छन् भने श्रीमतीले मिल्दोजुल्दो xxx९४१ नम्बर लिन सक्नुहुनेछ,” कम्पनीले भनेको छ । 

यो योजनाको मोबाइल नम्बर ९७०५ नम्बर रेन्जबाट सुरु हुन्छ । विशेषगरी ‘सधैं अन नम्बर’ प्राप्त गर्न चाहने ग्राहकले अन्तिम छ अङ्क आफैं रोजेर आफ्नो विशिष्ट मोबाइल नम्बर बनाउन सक्छन् । ग्राहकले सिधै एनसेल एप वा एनसेल वेबसाइटमा गएर ‘मेरो नम्बर, मेरै च्वाइस’ क्लिक गरी आफूले चाहेको मोबाइल नम्बरको पछिल्लो छ अङ्क उपलब्ध भए/नभएको सजिलै हेरेर तत्काल अनलाइन बुकिङ गर्न सक्नेछन् ।

हाल प्रयोग गर्दै आएको मोबाइल नम्बरको पछिल्लो ६ अंक मिल्नेगरी नयाँ मोबाइल नम्बर लिन सकिने सुविधा यो योजनाको प्रमुख विशेषता भएको कम्पनीले उल्लेख गरेको छ । 

यस योजना अन्तर्गत, ९७०५ रेन्जबाट मोबाइल नम्बर छनोट गर्नको लागि ९ लाख बढी मोबाइल नम्बरहरू उपलब्ध रहेका छन् । एनसेलले फस्ट कम, फस्ट सर्भ बेसिसमा उपलब्ध नम्बरहरू वितरण गर्ने जनाएको छ ।

यो सिम एनसेलले हाल सञ्चालन गरिरहेको ‘सधैं अन’ प्लान अन्तर्गत ५९९ रुपैयाँदेखि १ हजार ४९९ रुपैयाँसम्मको प्लानमा बन्डल सेवाका रूपमा उपलब्ध गराउने छ । सधैं अन योजनाका प्लानहरू अन्तर्गत ग्राहकहरूले भ्वाइस, डेटा, निःशुल्क सामाजिक सञ्जाल डेटा र एसएमएस सेवा पाउँछन् । *१२३# डायल गरेर ‘सधैं अन’ प्लानहरू एक्टिभेट गर्न सकिन्छ ।

बुकिङ गरिएको सिम ग्राहकले देशभर फैलिएका एनसेलका ३२ ओटा एनसेल सेन्टरहरू मध्ये कुनै पनि सेन्टरमा गई लिन सकिनेछ । काठमाडौं उपत्यकाको हकमा उपाय कार्गो सेवामार्फत होम डेलिभरी गराएर पनि यो सिम लिन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार  बुकिङ गरेको नम्बर सात दिनभित्र नलिएको खण्डमा सो नम्बर बुकिङको सूचीबाट स्वतः हट्ने र सो नम्बर अरु ग्राहकले लिन सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असार ४, २०८१ १६:३९