काठमाडौं । समाचारका लागि युवापुस्ता टिकटकमा निर्भर हुने क्रम बढेकाे एक अध्ययनले देखाएको छ । बेलायतस्ठित अक्सफोर्ड विश्वविद्यालयको रोयटर्स इन्स्टिच्युटले ४७ देशका ९५ हजार व्यक्तिसँग गत जनवरीदेखि फेब्रुअरीसम्म गरेकाे सर्वेक्षण अनुसार अधिकांश मानिसहरू समाचारका लागि सामाजिक सञ्जालका माध्यममा निर्भर हुने गरेको र यसमा टिकटकलाई समाचार पाउने माध्यमका रूपमा प्रयोग गर्नेहरूकाे सङ्ख्या बढेकाे देखिएको हो ।
समाचारका लागि सबैभन्दा बढी प्रयोग गरिने माध्यम फेसबुक नै रहेको छ । सक्रिय प्रयोगकर्ताको सङ्ख्या घट्दै गइरहे पनि फेसबुकलाई प्रयोगकर्ताहरू समाचार पाउन प्रयोग गर्ने गरेको सो अध्ययनले देखाएको छ ।
त्यस्तै युट्युब र ह्वाट्सएप पनि मानिसहरूका लागि समाचारको महत्त्वपूर्ण स्रोतका रूपमा देखिएका छन् । यता पहिलो पटक एक्स (ट्वीटर)लाई पछि पार्दै टिकटक समाचारको माध्यमका रूपमा उदाएको छ ।
उक्त अनुसन्धान प्रतिवेदन अनुसार समाचार पाउन १० प्रतिशत प्रयोगकर्ता एक्स प्रयोग गर्छन् भने १३ प्रतिशत प्रयोगकर्ता. टिकटक प्रयोग गर्छन् ।
विश्वव्यापी रूपमा १८ देखि २४ वर्ष उमेर समूहका २३ प्रतिशत युवाहरू टिकटकमा सक्रिय रहेको बताइएको छ । जसले गर्दा अधिकांश युवाका लागि टिकटक नै समाचारको सबैभन्दा महत्त्वपूर्ण स्रोत बनेको छ । विशेषगरी छोटोमा समाचारको सार आउने भएकाले टिकटकप्रति युवाको रुचि बढेको प्रतिवेदनले उल्लेख गरेकाे छ ।
“भिडिओ बुझ्न सहज भएको र प्रयोगकर्तालाई अड्याइराख्ने कन्टेन्ट भएकाले त्यसतर्फ उनीहरूको रुचि बढेको छ,” डिजिटल न्युज रिपोर्ट शीर्षकको उक्त अनुसन्धान प्रतिवेदनका लेखक निक न्युम्यानले बीबीसीसँग भने, “तर, अधिकांश परम्परागत सञ्चारमाध्यमले पुरानै शैलीको स्टोरी टेलिङलाई अपनाउन संघर्ष गरिरहेका छन् ।”
परम्परागत समाचारबाट टाढिंदै मानिसहरू
अधिकांश मानिसहरू समाचारबाट टाढिंदै गएको सो अध्ययनले देखाएको छ । परम्परागत शैलीका समाचार निराशाजनक, अथक र पट्यारलाग्दा हुने भन्दै मानिसहरू त्यसबाटै टाढिंदै गएको प्रतिवेदनमा उल्लेख छ ।
सर्वेक्षणमा १० जनामध्ये चार जना अर्थात् ३९ प्रतिशतले समाचार पूर्ण रूपमा बेवास्ता गर्ने गरेको प्रतिक्रिया दिएका थिए । जबकि सन् २०१७ मा समाचार बेवास्ता गर्ने मान्छेको सङ्ख्या २९ प्रतिशत थियो ।
युक्रेन र मध्यपूर्वमा भइरहेको युद्धका कारण मानिसहरूको रुचि समाचारमा घटेको प्रतिवेदनमा उल्लेख छ ।
सन् २०१७ मा सर्वेक्षण गरिएकामध्ये ६३ प्रतिशत मानिसहरूले समाचारमा रुचि हुने जनाएका थिए । तर, २०२४ मा यो सङ्ख्या घटेर ४६ प्रतिशत पुगेको छ । बेलायतमा भने अहिले २०१५ को तुलनामा समाचार प्रतिको रुचि आधाभन्दा बढीले घटेको बीबीसीले जनाएको छ ।