close

राष्ट्रिय परिचयपत्रका लागि वडा स्तरबाटै विवरण संकलन हुने

टेकपाना टेकपाना

असार ११, २०८१ १०:४९

राष्ट्रिय परिचयपत्रका लागि वडा स्तरबाटै विवरण संकलन हुने

काठमाडौं । गृह मन्त्रालयले स्थानीय तहसँग समन्वय गरेर वडास्तरमै राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको छ । एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले सामाजिक सुरक्षा भत्ता लिन परिचयपत्र अनिवार्य गरिएका २८ जिल्लाका प्रजिअहरूलाई त्यस्तो निर्देशन दिएको हो ।

सरकारले साउन १ बाट पहिलो चरणमा २८ जिल्लामा सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । ती जिल्लामा सेवाग्राहीको भीड बढेपछि वडास्तरबाट नै परिचयपत्रको विवरण सङ्कलन गर्न भनिएको मन्त्रालयका सहसचिव नारायण प्रसाद भट्टराईले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।

''सेवाग्राहीहरूलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले पहिलो चरणमा राष्ट्रिय परिचयपत्र लागु भएका २८ जिल्लामा ४३८ जना विवरण दर्ता अपेरटर खटाइएको छ भने सेवाग्राहीहरूको चापका आधारमा सम्बन्धित स्थानीय तहसँगको समन्वयमा पायक पर्ने उपयुक्त स्थानमा विवरण दर्ता स्टेशनहरू सञ्चालनको व्यवस्था मिलाउन सक्ने गरी प्रमुख जिल्ला अधिकारीलाई अधिकार प्रदान गरिएको छ,'' विज्ञप्तिमा भनिएकाे छ ।

जिल्ला प्रशासन कार्यालयहरूमा सेवा लिन आउने सेवाग्राहीहरूलाई अशक्तको हकमा तत्काल र अन्यको हकमा पहिले आउनेले पहिला सेवा प्रवाहको आवश्यक व्यवस्था मिलाउन समेत सबै जिल्ला प्रशासन कार्यालयहरूलाई पत्राचार गरिसकिएको मन्त्रालयले जनाएकाे छ ।

पछिल्लो अध्यावधिक: असार २१, २०८१ १८:५५