close

नयाँ लुक्समा भित्रियो ‘सेरेस थ्री’ ईभी, मूल्य ५० लाख

टेकपाना टेकपाना

असार १३, २०८१ १०:२

नयाँ लुक्समा भित्रियो ‘सेरेस थ्री’ ईभी, मूल्य ५० लाख

काठमाडौं । नेपाली बजारमा ‘सेरेस थ्री’ विद्युतीय गाडीको अपग्रेडेड भर्सन भित्रिएको छ । बुधबार राजधानीमा एक कार्यक्रम गर्दै सेरेस ब्राण्डका लागि नेपालको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटोकर्पले यो गाडी सार्वजनिक गरेको हो । 

नेपालमा यो ईभी कम्फर्ट र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छ । कम्फर्टको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ र प्रिमियमको मूल्य ५२ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ । 

२६५५ एमएम ह्विलबेस भएको गाडीको लम्बाइ, चौडाइ र उचाइ क्रमशः ४३८५, १८५० र १६५० एमएम छ । त्यस्तै ग्राउन्ड क्लियरेन्स १९० एमएम रहेको छ । ​कारमा पाँच ओटा सिट राखिएको छ ।

यसमा ९९ किलोवाट क्षमताको पीएमएसएम मोटर रहेको छ । ५२.७ किलोवाट आवर क्षमताको ब्याट्री भएको गाडीले सिङ्गल चार्जमा ४०५ किलोमिटर सम्मको रेन्ज दिने कम्पनीको दाबी छ ।  

ईपीएस (इलेक्ट्रिक पावर स्टेरिङ) स्टेरिङ भएको सेरेस थ्रीका चार ओटै चक्कामा डिस्क ब्रेक समावेश छ ।

यसमा १०.२५ इन्चको इन्फोटेनमेन्ट सिस्टम ‍छ भने छ ओटा एयरब्याग राखिएको छ । सुरक्षाका सन्दर्भमा यसमा इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम (ईएसपी), ह्विल लन्च असिस्टेन्ट, अटो होल्ड एन्ड एचडीसी, पार्किङ सेन्सर, ट्राक्सन कन्ट्रोल जस्ता सुविधा छन् ।

प्रिमियम भेरियन्टमा भने कम्फर्टभन्दा केही थप विशेषता छन् । प्रिमियममा वायरलेस मोबाइल चार्जिङ, फ्रन्ट कोलाइजन वार्निङ, ३६० क्यामेरा जस्ता सुविधा दिइएको छ । त्यस्तै प्रिमियममा पानारोमिक सनरुफको सुविधा छ भने कम्फर्टमा यो सुविधा छैन । 

डे टाइम रनिङ लाइट्स र एलईडी हेडलाइट्स, किलेस इन्ट्री (keyless entry), अटोमेटिक क्लाइमेट कन्ट्रोल जस्ता सुविधा दुवै भेरियन्टका गाडीमा पाइन्छ ।

यसमा इको, नर्मल र स्पोर्ट गरी तीन ओटा ड्राइभ मोड छन् । स्टेरिङ मोडका सन्दर्भमा पनि कम्फर्ट, नर्मल र स्पोर्ट गरी तीन ओटा मोड रहेका छन् ।

पछिल्लो अध्यावधिक: असार १३, २०८१ १०:४९